गृहमन्त्रालय नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालमा दरबन्दी थप्ने गृहकार्यमा छ। सरकार मन्त्रिपरिषद्को पूर्वस्वीकृतिअनुसार गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिको सिफारिसका आधारमा दरबन्दी थप गर्ने प्रक्रिया अगाडि बढाइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले हालै सार्वजनिक गरेको पछिल्लो तीन महिनाको प्रगति विवरणअनुसार नेपाल प्रहरीमा कुल २ हजार १९४ दरबन्दी थप गर्न लागिएको छ। जनपदतर्फ १ हजार ६६४ र प्राविधिकतर्फ ५३० दरबन्दी थप गर्ने प्रस्ताव अर्थ मन्त्रालयको सहमतिका लागि पत्राचार गरिएको छ।
त्यस्तै, सशस्त्र प्रहरी बल नेपालको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न गठित समितिको सिफारिसअनुसार १ हजार ७७४ दरबन्दी थप गर्ने विषयमा पनि अर्थ मन्त्रालयको सहमति मागिएको प्रगति विवरणमा उल्लेख छ।
हाल नेपाल प्रहरीमा कुल स्वीकृत दरबन्दी ७९ हजार ५४१ जना रहेको छ भने सशस्त्र प्रहरी बल नेपालमा कुल स्वीकृत दरबन्दी ३७ हजार १५३ जना रहेको छ। प्रस्ताव स्वीकृत भएमा दुवै निकायको दरबन्दी संख्या केही बढ्नेछ।
