जनकपुर — तिहार र छठ पर्वमा जिल्लाभर शान्ति सुरक्षा कायम राख्न धनुषामा एक हजार दुई सय ४० भन्दा बढी प्रहरी परिचालन गरिएको छ। नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले शनिबार जनकपुरमा पत्रकार सम्मेलन गर्दै चाडपर्व लक्षित विशेष सुरक्षा योजना सार्वजनिक गरेका हुन्।
प्रहरीका अनुसार पर्वका बेलामा जुवातास, पटका पड्काउने र आगलागीका घटना बढ्ने भएकाले त्यसको नियन्त्रणमा विशेष ध्यान दिइएको छ। शान्ति सुरक्षा कायम गर्न सादा पोशाकका प्रहरीसँगै पैदल र मोटरसाइकल गस्ती परिचालन गरिएको छ भने रातिको समयमा निगरानी टोली पनि खटाइएको छ।
चाडपर्वका अवसरमा धेरै मानिस घर छाडेर गाउँघर वा अन्यत्र जाने भएकाले चोरीका घटना बढ्न सक्ने जोखिम देखिएको प्रहरीको भनाइ छ। त्यसैले घर छाडेर बाहिर जाँदा नजिकको प्रहरी युनिट, छिमेकी वा आफन्तलाई जानकारी गराउन र सम्भव भएसम्म घरको रेखदेख गर्ने व्यक्ति राख्न नागरिकलाई आग्रह गरिएको छ।
भीडभाड हुने स्थान तथा सार्वजनिक कार्यक्रममा जाँदा अत्यधिक महँगा सुनका गहना र बहुमूल्य सामग्री नलगाउन पनि प्रहरीले अनुरोध गरेको छ। चाडपर्वको अवधिभर हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्दै नागरिकलाई सुरक्षित वातावरणमा पर्व मनाउने व्यवस्था मिलाउन सुरक्षा परिचालन निरन्तर रहने प्रहरीले जनाएको छ।
