बाजुरा — उच्च हिमाली भेगमा जाडो बढ्न थालेपछि बाजुराका भेडापालक किसानहरू भेडाको बथानसहित बेँसी झर्न थालेका छन्। कात्तिकको दोस्रो साता परेको वर्षा र त्यसपछि उच्च लेकमा परेको हिमपातले चिसो बढाएको हो।
चिसो बढेसँगै लेकाली क्षेत्रमा घाँस र चरनको अभाव हुन थालेपछि किसानहरूले भेडीगोठलाई तल्लो भेगतर्फ सार्न थालेका छन्। यो यहाँ पुस्तौँदेखि चल्दै आएको मौसमी बसाइँसराइ हो, जसले हिउँदभरि भेडाबाख्रालाई चिसोबाट जोगाउने र चरनको सहजता दिने गर्छ।
बूढीनन्दा नगरपालिका–९ का किसान सुमन थापा आफ्ना आमाबुबा, श्रीमती र छोराछोरीसहित बेँसी झरेका छन्। उनी साँफे–मार्तडी सडकखण्ड हुँदै २०० भेडासहित अछामको गैलतर्फ लागेका छन्। गाउँमा हिउँ पर्न थालेपछि भेडा चराउन कठिन हुने भएकाले चैत–वैशाखसम्म उनी बेँसीमै बस्ने बताउँछन्।
जिल्लाका उच्च हिमाली क्षेत्रका भेडा व्यवसायीहरू हिउँदको समयमा चिसो छल्न बूढीगङ्गा, खप्तड छेडेदहलगायत छिमेकी जिल्ला डोटी र अछामका विभिन्न ठाउँमा गएर बस्ने गर्छन्। यसरी बेँसी झर्ने परम्पराले बाजुराको पशुपालन र ग्रामीण जीवनशैलीलाई झल्काउने गरेको छ।
भेडापालन बाजुराका हिमाली बस्तीका धेरै परिवारको मुख्य आम्दानीको स्रोत हो। चिसो मौसममा भेडा बिरामी पर्ने र मर्न सक्ने जोखिम हुने भएकाले किसानहरू समयमै बेँसी झर्ने गर्छन्।
