रुपन्देहीमा प्रहरीले अवैध रूपमा भित्र्याइएका मोबाइलका सामान ठूलो परिमाणमा नियन्त्रणमा लिएको छ। आइतबार बिहान करिब ६ बजे लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिनामा इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले ती सामान बरामद गरेको हो।
प्रहरीका अनुसार भारतीय नम्बर प्लेट यूपी ५५ एएन ०८३० लेखिएको मोटरसाइकलमा सामान ल्याइरहेको अवस्थामा नियन्त्रणमा लिइएको थियो। जाँचका क्रममा मोटरसाइकलमा १ हजार ३१ थान मोबाइल टेम्पर्ड ग्लास, २४० थान कर्भ्ड ग्लास विथ ग्लु, ४३ थान आईफोन ब्याट्री, १०० थान एयरबड्स, १४६ थान आईफोन ब्याक प्यानल, ६ थान एन्ड्रोइड ब्याक प्यानल र १०३ थान एन्ड्रोइड ब्याट्री भेटिए।
बरामद सामानको अनुमानित मूल्य ६ लाख ६२ हजार ६७० रुपैयाँ रहेको प्रहरीले जनाएको छ। सामान ओसार्न प्रयोग भएको मोटरसाइकलको मूल्य ५० हजार रुपैयाँ अनुमान गरिएको छ। यससँगै मोटरसाइकलसहित बरामद सामानको कुल मूल्य ७ लाख १२ हजार ६७० रुपैयाँ पुगेको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
