साउदी अरबको राजधानी रियादस्थित प्रमुख आर्थिक केन्द्रमा भएको आक्रमणमा अरामकोको भवनमा क्षति पुगेको छ। प्रत्यक्षदर्शीहरूले उक्त भवनलाई निशाना बनाइएको र त्यसका कैयौं तल्लामा क्षति देखिएको बताएका छन्।
साउदी नेतृत्वको गठबन्धनले आइतबार बिहान हुथी समूहले रियादतर्फ प्रहार गरेका दुई ब्यालेस्टिक क्षेप्यास्त्रलाई हवाई प्रतिरक्षा प्रणालीले बीचमै खसालेर नष्ट गरेको जनाएको थियो। त्यसको केही समयपछि राजधानीमा ठूला विस्फोटका आवाज सुनिएका थिए। गठबन्धनका प्रवक्ता तुर्की अल–माल्कीले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन्।
प्रत्यक्षदर्शीहरूका अनुसार किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्टमा रहेको अरामको टावरमा क्षति पुगेको छ। भवनका सिसा फुटेका छन् भने बाहिरी भागमा समेत क्षति देखिएको छ। एक प्रत्यक्षदर्शीले उक्त भवन नै लक्षित गरिएकोमा कुनै शङ्का नरहेको बताएका छन्।
यो आक्रमण साउदी शिक्षा मन्त्रालयले शनिबार राति रियादका विद्यालयमा आइतबारदेखि भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन हुने घोषणा गरेको केही घण्टापछि भएको हो। यसअघि आक्रमणको शृङ्खलाका कारण केही सातादेखि विद्यालयमा अनलाइन माध्यमबाट पठनपाठन भइरहेको थियो।
किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्ट साउदी अरबको आर्थिक तथा सामाजिक सुधार अभियानको प्रमुख प्रतीक मानिन्छ। यहाँ अग्ला सिसे भवन, विलासी पसल तथा हरियाली क्षेत्र छन्। आवासीय भवन र ठूलो मेट्रो स्टेसनसमेत रहेको यस क्षेत्रमा बिहानको व्यस्त समयमा मानिसहरूको बाक्लो आवतजावत हुने गर्दछ। यस क्षेत्रमा भएको आक्रमणलाई साउदी अरब र हुथी विद्रोहीबीचको द्वन्द्वमा गम्भीर तनाव वृद्धिका रूपमा हेरिएको छ।
सन् २०२२ मा भएको युद्धविराम गत जुलाईमा भङ्ग भएपछि साउदी अरब र हुथी विद्रोहीबीच पुनः आक्रमण र प्रत्याक्रमण जारी छ। हुथी विद्रोहीले साउदी अरबका विमानस्थल, ऊर्जा पूर्वाधार र सैन्य संरचनालाई निशाना बनाउँदै आएका छन्। इरानको समर्थन प्राप्त हुथी विद्रोहीले सन् २०१४ मा यमनको राजधानी साना कब्जा गरेका थिए। त्यसको एक वर्षपछि साउदी नेतृत्वको गठबन्धन यमनी सरकारको समर्थनमा द्वन्द्वमा सहभागी भएको थियो।
संयुक्त राष्ट्रसङ्घका अनुसार यमनमा द्वन्द्व पुनः चर्किएयता एक हजार छ सयभन्दा बढी मानिसको मृत्यु भएको छ भने तीन लाखभन्दा बढी विस्थापित भएका छन्। यमनका विभिन्न अधिकारीहरूले हजारौँ सिरियाली सैनिक साउदी अरब र यमनमा तैनाथ हुने तयारीमा रहेको बताएका छन्।
