दुग्ध विकास संस्थान (डीडीसी) मार्फत भएको करोडौँ रुपैयाँको घोटाला प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानको दायरा फराकिलो बनाएको छ। यसपटक नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र उनी सम्बद्ध सुजल डेरीमाथि छानबिन सुरु भएको छ।
सीआईबीको अनुसन्धानबाट सुजल डेरीले सरकारी संस्थानसँगको मिलेमतोमा कौडीको भाउमा सामान खरिद गर्ने र खरिद गरेको सामानको रकमसमेत भुक्तानी नगर्ने गम्भीर आर्थिक बदमासी सतहमा आएको छ। डीडीसीमा भएको कुल १२ करोड १० लाख रुपैयाँको भ्रष्टाचारमध्ये करिब पाँच करोड रुपैयाँ बराबरको नोक्सानी सुजल डेरी एक्लैले गराएको स्रोतको दाबी छ।
केही वर्षअघि सुजल डेरीले डीडीसीबाट ५० टन मक्खन अस्वाभाविक रूपमा कम मूल्यमा खरिद गरेको थियो। डीडीसीका तत्कालीन महाप्रबन्धक सञ्जीव झासँगको मिलेमतोमा बजार मूल्यभन्दा निकै सस्तोमा मक्खन खरिद गरेर सुजल डेरीले राज्यलाई पाँच करोड रुपैयाँ घाटा लगाएको अनुसन्धानमा संलग्न सीआईबीका एक उच्च अधिकारी बताउँछन्। अहिले मक्खनको बजार मूल्य प्रतिकिलो करिब एक हजार रुपैयाँ छ।
यसअघि गत अक्टोबर ३० मा सीआईबीले दोहोरो भुक्तानी गरेर राज्यको ढुकुटीमा अनियमितता गरेको आरोपमा पूर्व महाप्रबन्धक झासहित आठ जना अधिकारीलाई पक्राउ गरिसकेको छ। पक्राउ परेका अधिकारीहरूको बयान र डीडीसीका कागजात अनुसन्धान गर्दै जाँदा सुजल डेरीले खरिद गरेको परिमाण र तिरेको मूल्यबिचको अस्वाभाविक अन्तर फेला परेको हो।
यसबाहेक सुजल डेरीले डीडीसीबाट ठूलो मात्रामा दुग्धजन्य पदार्थ लगेर लामो समयसम्म भुक्तानी नदिएको विषयमा पनि प्रहरीले छानबिन गरिरहेको छ। सुजल डेरीका म्यानेजर दर्शन सिलवालले तीन वर्षअघिसम्म डीडीसीबाट मक्खन खरिद गरेको स्वीकार गरे पनि तिर्नुपर्ने यकिन बक्यौता नखुलाएको अनुसन्धान अधिकारीहरूको दाबी छ।
सीआईबीले हाल डीडीसीको आर्थिक विवरण तथा खातापाताको गहिरो अडिट गरिरहेको छ। सन् २००४ मा सुजल डेरीले पोखरामा रहेको सरकारी स्वामित्वको डेरीको सम्पत्ति तथा संरचनाहरू कसरी अधिग्रहण गरेको थियो भन्ने शंकास्पद विगत पनि छानबिनको दायरामा तानिएको छ। घोटाला भएको बाँकी करिब सात करोड रुपैयाँ अन्य व्यक्ति र कम्पनीहरूसँग जोडिएको भन्दै त्यसतर्फ पनि अनुसन्धान केन्द्रित गरिएको छ।
