थाइल्यान्डमा सम्पन्न अन्तर्राष्ट्रिय खगोल विज्ञान ओलम्पियाडमा नेपाली विद्यार्थीले स्वर्ण पदक जित्दै देशको नाम विश्वमञ्चमा उचाइमा पुर्याएका छन्। थाइल्यान्डको उबोन रात्चाथानीमा नोभेम्बर १ देखि ८ सम्म भएको पाँचौँ अन्तर्राष्ट्रिय ओलम्पियाड अन एस्ट्रोनोमी एन्ड एस्ट्रोफिजिक्स– कनिष्ठ प्रतियोगितामा नेपालले एक स्वर्ण, एक कांस्य र एक सम्मानजनक उल्लेख जित्न सफल भएको छ।
नेपाली टोलीका शाहवाज आलमले स्वर्ण पदक हात पारेका हुन्। अन्तर्राष्ट्रिय विज्ञान ओलम्पियाडको इतिहासमा नेपाली विद्यार्थीले देशका लागि जितेको यो पहिलो स्वर्ण पदक हो, जसले नेपालको शैक्षिक तथा वैज्ञानिक यात्रामा नयाँ अध्याय थपेको छ। त्यस्तै, टोलीका सहज केसीले कांस्य पदक जिते भने इभान दुबेले सम्मानजनक उल्लेख प्राप्त गरे। अभिउदय ढुङ्गाना र अखिलेश पोखरेलले पनि प्रतियोगितामा सहभागिता जनाउँदै उत्कृष्ट प्रदर्शन गरेका थिए।
नेपाल एस्ट्रोनोमिकल सोसाइटीले आयोजना गरेको राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको छनोट र बन्द शिविरको प्रशिक्षणपछि विद्यार्थीलाई थाइल्यान्ड पठाइएको थियो। टोलीको नेतृत्व सोसाइटीका मनिषा द्वा र ओशन शर्मा कट्टेलले गरेका थिए। सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार विगतका कांस्य पदकको जगमा उभिएर हासिल भएको यो स्वर्णले नेपाली विद्यार्थीको बौद्धिक क्षमता विश्वस्तरको रहेको प्रमाणित गरेको छ।
