काठमाडौँको बसुन्धारामा आइतबार भएको सवारी दुर्घटनामा एक महिलाको ज्यान गएको छ। काठमाडौँ महानगरपालिका–३ स्थित बसुन्धारामा कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा दोलखा घर भई हाल बुढानीलकण्ठ बस्दै आएकी २७ वर्षीया ङबुदि शेर्पा रहेकी छन्। उनी स्कुटरमा सवार थिइन्। दुर्घटनामा गम्भीर घाइते भएकी शेर्पाको उपचारका क्रममा दिउँसो ३ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
स्कुटर दोलखा घर भई हाल बुढानीलकण्ठ बस्ने सोमबहादुर धामीले चलाइरहेका थिए। उनी दुर्घटनामा सामान्य अवस्थामा रहेका छन्।
धादिङ घर भई हाल बालुवाटार बस्ने शान्ताकुमारी तामाङले चलाएको बा.प्र.०१–०२७ च ९७३६ नम्बरको कारले चक्रपथतर्फ जाँदै गरेको बा.प्र.०२–०६४ प ८९७५ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीको भनाइ छ।
दुर्घटनापछि कार चालक तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुवै सवारी साधन ट्राफिक प्रहरीको नियन्त्रणमा छन् भने कारलाई नेपाल प्रहरीको प्रतिकार्य तथा तालिम केन्द्रमा पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
