भक्तपुर । नेपाल संवत् ११४७ को पहिलो दिन सोमबार भक्तपुरलगायत देशका विभिन्न स्थानमा नेवार समुदायले म्ह: पूजा गरी नयाँ वर्ष मनाएका छन्। नेवार समुदायले प्रत्येक वर्ष तिहारअन्तर्गत गोवर्द्धन पूजाका दिन म्ह: पूजा गर्ने परम्परा छ।
नेपाल भाषामा ‘म्ह:’ को अर्थ शरीर हो। यस दिन शरीरलाई ईश्वरको वासस्थान मानेर पूजा गर्ने गरिन्छ। म्ह: पूजालाई आत्मपूजाका रूपमा समेत लिने गरिएको छ।
भक्तपुरका रामकृष्ण प्रजापतिका अनुसार म्ह: पूजा नेवार समुदायको मौलिक सांस्कृतिक परम्परा हो। यसले मानिसलाई आफ्नो शरीरको महत्त्व बुझ्न र आत्मसम्मान गर्न प्रेरित गर्छ। लक्ष्मी कर्माचार्यले म्ह: पूजा परिवारका सबै सदस्य एकै ठाउँमा भेला भएर मनाउने पर्व भएकाले यसले पारिवारिक एकता, सद्भाव र आत्मीयता बढाउने बताइन्।
म्ह: पूजाका अवसरमा घरको आँगन वा बुइँगलमा रातो माटोले लिपपोत गरी चामलको पिठोबाट मण्डल बनाइन्छ। नेवारी भाषामा मण्डललाई ‘मरङ्ग’ भनिन्छ। मण्डललाई अबिर, सुन्तला रङ, फूल, लाभा र फलफूलले सजाइन्छ।
घरकी ज्येष्ठ महिलाले परिवारका सदस्यलाई उमेर क्रमअनुसार लहरै राखेर पूजा गर्ने परम्परा छ। पूजामा बत्ती, अक्षता, ओखर, फूल, फलफूल र मुटुमारीलगायत सामग्री प्रयोग गरिन्छ। घरबाहिर पालामा दीप बालेर पूजा सुरु गरिन्छ।
संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार म्ह: पूजा नेवार समुदायको मौलिक तथा अनुपम सांस्कृतिक पर्व हो। मानव शरीरमा ईश्वरको बास हुन्छ भन्ने विश्वासका आधारमा शरीरको पूजा गर्ने परम्परा सुरु भएको उनी बताउँछन्। नेवारी भाषामा प्रचलित ‘थःत थःम्ह म्हमसिया अति दुःख सिल रे’ भन्ने गीतले आफूलाई चिन्न नसक्दा दुःख पाइने भाव व्यक्त गर्छ।
म्ह: पूजा तान्त्रिक विधिअनुसार शरीरको पूजा गर्ने परम्परा भएको श्रेष्ठ बताउँछन्। यस दिन पूजा गरे वर्षभरि शरीरमा चोटपटक नलाग्ने, बिरामी नहुने तथा सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ।
पूजा सम्पन्न भएपछि परिवारका सदस्यलाई अण्डा, माछा वा मासु र रक्सी सगुनका रूपमा दिने चलन छ। यस दिन मानिसको मात्र नभई घरमा प्रयोग हुने कुचो, सिलौटो, माना, पाथीलगायत सजीव तथा निर्जीव वस्तुको समेत पूजा गर्ने परम्परा छ।
म्ह: पूजाका दिन बालिएको दीप तीनै लोकसम्म पुग्ने धार्मिक विश्वासका कारण घरलाई दीपावली गरी झिलिमिली बनाउने चलन छ। दैवी प्रकोपबाट बच्न शरीरको पूजा गर्ने परम्परा सुरु भएको भन्ने किंवदन्ती पनि म्ह: पूजासँग जोडिएको छ। धार्मिक आस्था, सांस्कृतिक पहिचान र पारिवारिक एकतासँग जोडिएको यो पर्व नेवार समुदायले पुस्तौँदेखि मनाउँदै आएको छ।
