युक्रेनमाथि रुसले पूर्णस्तरको आक्रमण थालेपछि मस्कोलाई विश्वबाट अलग्याउन र युद्धका लागि चाहिने आम्दानी घटाउन अमेरिकाले कडा कदम चालेको थियो। रुसी तेल तथा अन्य सामानको आयातमा रोक लगाइएको थियो भने रुसको अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीमाथिको पहुँच खुम्च्याइएको थियो। तेल बिक्रीमा मूल्यको सीमा तोक्ने योजना पनि अघि सारिएको थियो।
तर चार वर्षपछि वासिङ्टनको नीतिमा नाटकीय फेरबदल देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सहमतिपछि रुसी डिजेल बोकेको एउटा ट्यांकर अमेरिकी तटतर्फ बढिरहेको छ। माल्टाको झन्डा बोकेको मध्यम आकारको ट्यांकर ‘एगियोई फानेन्देस’ मा तीन लाख ब्यारेल रुसी डिजेल रहेको छ। सन् २०२६ मा रुसी इन्धन बोकेको ट्यांकर अमेरिकी बजारतर्फ जानुलाई मस्कोप्रतिको अमेरिकी नीतिमा आएको ठूलो परिवर्तनका रूपमा हेरिएको छ।
युद्ध जारी रहेकै अवस्थामा ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग व्यापारिक सम्झौता गर्ने र रुसमाथिका प्रतिबन्ध खुकुलो पार्ने इच्छा देखाएका छन्। यसले रुसलाई अलग्याउने अमेरिका र पश्चिमी मुलुकको वर्षौंदेखिको प्रयास कमजोर बनाएको विश्लेषण गरिएको छ।
सन् २०२२ को सुरुमा अमेरिकामा रुसी तेलको एक थोपा पनि प्रवेश नगराउने बलियो राजनीतिक र व्यावसायिक सहमति रहेको तत्कालीन अमेरिकी अर्थ मन्त्रालयका सहायक सचिव बेन ह्यारिसले बताएका छन्। अहिले उनी ब्रुकिङ्स इन्स्टिच्युसनमा उपाध्यक्ष तथा आर्थिक अध्ययन निर्देशक छन्। उनका अनुसार ट्रम्पको कदमले प्रतिबन्धको कुनै विशेष अर्थ नरहेको र युक्रेन युद्ध अन्त्य गर्न प्रतिबन्ध प्रभावकारी माध्यम नभएको सन्देश दिएको छ।
अमेरिकाले रुसी डिजेल आयात गर्ने निर्णय मध्यावधि निर्वाचनको केही साताअघि गरेको हो। अमेरिकामा इन्धनको मूल्य तीव्र रूपमा बढिरहेका बेला यो निर्णय गरिएको थियो। डिजेलको मूल्य पहिलोपटक प्रतिग्यालन ६ डलरभन्दा माथि पुगेको छ। इरान युद्धअघि यसको राष्ट्रिय औसत मूल्य ३.७६ डलर थियो। पेट्रोलको औसत मूल्य पनि एक वर्षअघिको तीन डलरबाट बढेर चार डलरभन्दा माथि पुगेको छ।
ट्रम्प प्रशासनले रुसी डिजेल आयातले अमेरिकी उपभोक्तालाई राहत दिने दाबी गरेको छ। तर यसले इन्धनको मूल्यमा उल्लेख्य प्रभाव पार्ने सम्भावना न्यून रहेको विश्लेषण गरिएको छ। अमेरिकी ऊर्जा सूचना प्रशासनका अनुसार उक्त ट्यांकरमा रहेको तीन लाख ब्यारेल डिजेल अमेरिकी यातायात क्षेत्रले एक दिनमा खपत गर्ने इन्धनको करिब १० प्रतिशत मात्र हो। रुसले प्रस्ताव गरेको २२ लाख ब्यारेल डिजेलसमेत सबै आयात गरिए पनि त्यसले अमेरिकाको एक दिनको आवश्यकता पूरा गर्न सक्दैन।
डिजेल आयातको सम्झौता अमेरिका र रुसबीच आगामी दिनमा थप व्यापारिक कारोबारको सुरुवात हुन सक्ने अनुमान गरिएको छ। सम्भावित सम्झौतामा अमेरिका–रुस संयुक्त डेटा सेन्टर परियोजनादेखि आर्कटिक क्षेत्रमा तरलीकृत प्राकृतिक ग्यास उत्पादनका संयुक्त परियोजनासम्म रहेका छन्। युक्रेनमा युद्धविरामसमेत नभएको अवस्थामा यस्ता सम्झौताको तयारी हुनुले पश्चिमी प्रतिबन्ध नीतिमा ठूलो परिवर्तनको संकेत गरेको विज्ञहरू बताउँछन्।
यसैबीच, रुसी तेल कम्पनी लुकोइलको अन्तर्राष्ट्रिय सम्पत्ति खरिद गर्न अमेरिकी लगानीकर्तासमेत संलग्न समूहले सम्झौता गर्ने तयारी गरेको छ। आगामी केही साताभित्र यसबारे निर्णय हुन सक्ने रोयटर्सले जनाएको छ। ट्रम्प प्रशासनले रुसको बहुअर्ब डलरको सार्वभौम सम्पत्ति कोषमाथिको प्रतिबन्ध हटाउने विषयमा पनि छलफल गरेको छ। बाइडेन प्रशासनले युक्रेनमाथि रुसको पूर्णस्तरको आक्रमणपछि उक्त कोषमाथि प्रतिबन्ध लगाएको थियो।
ट्रम्पको रुसी इन्धन आयात गर्ने निर्णयले अमेरिकाभित्रै राजनीतिक विवाद सिर्जना गरेको छ। न्युजर्सीकी डेमोक्र्याटिक गभर्नर मिकी सेरिलले रुसी डिजेल आयात गर्नु संघीय कानुनविपरीत हुन सक्ने भन्दै राज्यका बन्दरगाह तथा टर्मिनल सञ्चालकहरूलाई चेतावनी दिएकी छन्। यस्तो कारोबारमा संलग्न भए नागरिक तथा आपराधिक दुवै प्रकारका कानुनी कारबाही हुन सक्ने उनको भनाइ छ।
उता, रुसबाट डिजेल बोकेर अमेरिका आउँदै गरेका अन्य दुई प्रतिबन्धित ट्यांकर भने अमेरिकी खरिदकर्ताहरू कानुनी परिणामको डरले पछि हटेपछि आफ्नो गन्तव्य परिवर्तन गर्न बाध्य भएका छन्। कमोडिटी अनुसन्धान संस्था केप्लरका निर्देशक म्याट स्मिथका अनुसार ‘एगियोई फानेन्देस’ अझै अमेरिकातर्फ नै अघि बढिरहेको छ। तर पछिल्ला दिनमा यसको गति सुस्त भएको छ। त्यसैले उक्त डिजेल अमेरिकी बन्दरगाहमा अनलोड हुने निश्चित छैन।
