विद्युतीय ठगीबाट हुने आर्थिक क्षति रोक्न नेपालमा एकीकृत एन्टिस्क्याम सेन्टर सञ्चालनमा आएको छ। नेपाल प्रहरीको साइबर ब्युरोको कार्यालयमा स्थापना गरिएको यो केन्द्रमा वाणिज्य बैंक, भुक्तानी प्रणाली सञ्चालक तथा सेवा प्रदायक र प्रहरीका प्रतिनिधि एकै ठाउँ बसेर काम गरिरहेका छन्।
केन्द्र शुक्रबारदेखि सञ्चालनमा आएको हो। अहिले यहाँ ३० जना जनशक्ति चौबिसै घण्टा खटिएका छन्। नेपाल राष्ट्र बैंकका निर्देशक सुशील पौडेलका अनुसार ठगले विभिन्न बैंकमा सारेर लुकाउन खोजेको रकम केन्द्रले १५ मिनेटभित्रै रोक्का गर्न सकेको छ। उनले ठगिएको पैसा नौ तहसम्म सारिएको अवस्थामा समेत रोक्न सफल भएको बताए। केन्द्रमा २० वटा बैंकका साथै खल्ती र ईसेवाका प्रतिनिधि बसेका छन्।
पीडितले हटलाइन नम्बर १२४७ मा फोन गरेपछि त्यहीँबाट कारबाही सुरु हुन्छ। उजुरी आएपछि ठगीको रकम पुगेका सबै बैंक खाता रोकिन्छन्। केन्द्रमा प्रतिघण्टा तीनवटाका दरले उजुरी आइरहेको पौडेलले जानकारी दिए।
अहिले रकम रोक्ने काम मात्र भइरहेको छ। रोकिएको पैसा फिर्ता गर्न प्रमाण आवश्यक पर्ने पौडेलले बताए। रकम आफ्नो नभएको प्रमाणित गर्नुपर्ने दायित्व खातावालाकै हुने उनको भनाइ छ। राष्ट्र बैंकले एन्टिस्क्याम सञ्चालन कार्यविधि बनाउने तयारी गरिरहेको छ।
विकास बैंक र फाइनान्स कम्पनीका प्रतिनिधि भने केन्द्रमा भौतिक रूपमा उपस्थित छैनन्। ठगले त्यतैतिर पैसा सार्न सक्ने जोखिम देखिएपछि ती संस्थालाई फोकल पर्सन तोकेर चौबिसै घण्टा तुरुन्तै जवाफ दिन राष्ट्र बैंकले निर्देशन दिएको छ।
