तिहारको उल्लाससँगै पटाकाको धुवाँ र आवाजले काठमाडौं उपत्यकाको हावा अस्वस्थ बनेको छ। आज मध्याह्नसम्म उपत्यकाको वायु गुणस्तर सूचकांक १४३ पुगेको छ, जुन अस्वस्थ तह हो। यससँगै काठमाडौं विश्वका सबैभन्दा प्रदूषित १० स्थानको सूचीमा परेको छ।
तिहार सुरु भएयता राति पटाका पड्किने क्रम बढेको छ। चर्को आवाजले धेरैको निद्रा बिथोलिएको छ भने धुवाँले हावाको गुणस्तर झनै बिगारेको छ। वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले पटाका र प्लास्टिकका फूलजस्ता सामग्रीले वातावरणमा दीर्घकालीन नकारात्मक असर पार्ने र कार्बन उत्सर्जन बढाउने बताए। उनले प्राकृतिक फूल प्रयोग गर्न आग्रह गरे।
वातावरणविद् राजन थापाका अनुसार चक्रवातको प्रभावमा करिब तीन दिन परेको वर्षापछि उपत्यकाको हावा सफा भएको थियो, तर अहिले प्रदूषण फेरि बढेको छ। सार्वजनिक बिदाका कारण उपत्यकाबाट धेरै सवारीसाधन बाहिरिएका र सडकको चाप घटेको अवस्थामा पनि प्रदूषण बढ्नुले पटाकाजस्ता स्रोततर्फ ध्यान दिनुपर्ने उनले बताए। पराल जलाउने समय अझै नआएको उनको भनाइ छ।
पटाकाको आवाजले कानमा पनि गम्भीर क्षति पुर्याउन सक्छ। वीर अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. विमलेशकुमार गुप्ताका अनुसार सामान्यतया ८५ डेसिबलसम्मको ध्वनि सुरक्षित मानिन्छ, तर पटाका पड्किँदा १४० देखि १५० डेसिबल वा सोभन्दा बढी ध्वनि निस्कन सक्छ। यस्तो आवाजले कानको जाली फुटाउने र श्रवण कोषिका नष्ट गर्ने भएकाले स्थायी बहिरोपनको जोखिम हुने उनले बताए। कानमा सिट्टी बज्ने वा आवाज धमिलो सुनिने लक्षण २४ देखि ४८ घण्टासम्म कम नभए विशेषज्ञसँग परामर्श लिन उनले सुझाव दिए।
