भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सद्भाव कायम गर्दै देशमा शान्ति कायम गर्नुपर्ने बताएका छन् । तिहार, नेपाल संवत् ११४७ न्हूदँ तथा छठ पर्वको अवसरमा सोमबार भक्तपुरमा आयोजित कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् ।
ओलीले झूट र विध्वंसप्रति आपत्ति जनाउँदै सामाजिक सद्भाव कायम गर्दै देशमा शान्ति कायम गर्नुपर्ने बताए । उनले समाजमा झूट बोल्ने, राष्ट्रिय सम्पत्तिमा आगो लगाउने र लुटपाट गर्ने जस्ता कार्यले विश्वमा नेपाली जातिको बेइज्जत र बदनाम भएको उल्लेख गरे ।
उनले बुद्धको उपदेशबाट चलेको शान्तिको संस्कृतिलाई देशव्यापी बनाउनुपर्नेमा जोड दिए । घृणा फैलाउने संस्कृतिभन्दा सांस्कृतिक र शैक्षिक ढङ्गले मानिसको मनोभाव सुधार्नुपर्ने उनको भनाइ थियो ।
ओलीले नेपाली जाति गरी खाने र निर्माणकारी जाति भएको उल्लेख गरे । मौलिक कला संस्कृतिले संस्कृति, मनोभाव र आचरणलाई सकारात्मक बनाउने उनले विश्वास व्यक्त गरे ।
कार्यक्रममा उनले पर्वहरूले समाजमा एकता र सद्भाव बढाउने बताए । शान्ति र सद्भाव नै देशको विकासको आधार भएको उनको भनाइ थियो ।
