काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन सोमबार टर्कीए प्रस्थान गरेका छन् । उनी टर्किस एयरलाइन्सको उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सम्मेलन आयोजना हुने सहर आन्ताल्याका लागि प्रस्थान गरेका हुन् ।
नोभेम्बर ९ देखि २० सम्म टर्कीएको आन्ताल्यामा आयोजना हुने सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री शिशिर खनाल यसअघि नै सम्मेलनस्थल पुगिसकेका छन् । सम्मेलनका क्रममा अर्थमन्त्री वाग्लेले जलवायु परिवर्तन र दिगो आर्थिक विकाससँग सम्बन्धित नेपालका विषयलाई विभिन्न उच्चस्तरीय आधा दर्जन सत्रमा उठाउने कार्यक्रम रहेको छ ।
नेपालजस्ता जलवायु परिवर्तनको असर बढी भोगिरहेका मुलुकका मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नु यस भ्रमणको प्रमुख उद्देश्य रहेको बताइएको छ । सम्मेलनमा सहभागी विभिन्न मुलुकका प्रतिनिधिसँगको छलफलमा नेपालको प्राथमिकता स्पष्ट रूपमा राखिने अपेक्षा गरिएको छ ।
अर्थमन्त्री वाग्ले कात्तिक २९ गते आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । उनको अनुपस्थितिमा मन्त्रालयको नियमित कामकाज यथावत् रूपमा सञ्चालन हुने बताइएको छ ।
