काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल संवत् ११४७ को अवसरमा शुभकामना सन्देश जारी गरेका छन्। सन्देशमा उनले राष्ट्रिय विभूति शङ्खधर साख्वाले प्रवर्तन गरेको नेपाल संवत् देशको मौलिक संवत् भएको उल्लेख गरेका छन्।
राष्ट्रपतिका अनुसार लिच्छवी राजा राघवदेवको पालामा काठमाडौँ उपत्यकाका किसान तथा गरिब जनतालाई ऋणबाट मुक्त गराएर शङ्खधरले नयाँ युगको थालनी गरेका थिए। त्यसैको सम्झनामा यो संवत् चलनमा आएको हो।
नेपाली समाज सभ्य, सहिष्णु र एकताको सूत्रमा बाँधिएको उल्लेख गर्दै राष्ट्रपतिले यस्ता परम्पराले नेपाली सभ्यता, इतिहास, स्वतन्त्रता र पहिचानलाई बलियो बनाउँदै लगेको बताएका छन्। उनले शङ्खधरको जनताको स्वतन्त्रता र आर्थिक मुक्तिका लागि गरेको लोककल्याणकारी कामको पनि स्मरण गरेका छन्।
राष्ट्रपतिले निःस्वार्थ भावनाले सामाजिक समानता, सुशासन, उन्नति र प्रगतिका लागि अघि बढ्न आजको दिनले सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्। मौलिक संवत्ले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना बढाएर राष्ट्रिय एकता बलियो बनाओस् भन्ने कामना पनि उनले गरेका छन्।
