बाँकेका तीन युवाले तिहारको अवसरमा व्यावसायिक फूलखेती गरेर चार लाख रुपैयाँभन्दा बढी आम्दानी गरेका छन्। मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत कृषिमा स्नातक पढ्दै गरेका युवाहरूले नेपालगन्जमा १० कट्ठा जग्गामा लगाएको फूलबाट ११ क्विन्टल उत्पादन गरी बिक्री गरेका हुन्।
नेपालगन्ज उपमहानगरपालिका–१९ का वेदराज आचार्य र चेतन केसी तथा कोहलपुर–११ का असिम सिग्देलले नेपालगन्ज–१९ को फुटाहा गाउँमा फिट फार्मअन्तर्गत सामूहिक रूपमा फूलखेती गरेका थिए। उनीहरूले उत्पादन गरेको सबै फूल भाइटीकाअघि नै बिक्री भइसकेको थियो। माग बढी भएपछि पहिलेदेखि बुकिङ गरेकाहरूलाई मात्र उपलब्ध गराउन दाङबाट थप दुई क्विन्टल फूल झिकाएर बिक्री गरिएको व्यवसायी असिम सिग्देलले बताए।
फूलखेतीबाट तिहारको खर्च जुटेको बताउँदै सिग्देलले यसपटकको अनुभवपछि आगामी वर्ष खेती दोब्बर गर्ने योजना सुनाए। उनका अनुसार यसपटक युवाहरूले विभिन्न ठाउँमा गरेको फूलखेतीबाट भारतबाट आयात हुने फूललाई पूर्ण रूपमा विस्थापित गर्न सफलता मिलेको छ।
अर्का व्यवसायी चेतन केसीका अनुसार बुटवल, दाङ, काठमाडौँ र सुर्खेतलगायत जिल्लाबाट समेत फूलको माग आएको थियो। व्यवसायी वेदराज आचार्यले थोरै मिहिनेत र लगानीबाट पनि राम्रो प्रतिफल हासिल गर्न सकिने कुरा फूलखेतीले प्रमाणित गरेको बताए। उनले प्रतिकिलो ४०० रुपैयाँमा फूल बिक्री गरेको जनाउँदै अझै पनि माग आइरहेको सुनाए।
यस वर्ष बाँकेमा करिब १३ बिघा क्षेत्रफलमा व्यावसायिक फूलखेती गरिएको फ्लोरी कल्चर एसोसिएसन नेपाल बाँकेले जनाएको छ। जिल्लाको नरैनापुर, खजुरा, नेपालगन्ज र कोहलपुरमा किसानले व्यावसायिक रूपमा फूलखेती गरेका छन्। यस वर्ष जिल्लामा सयपत्री, कलकत्ते र आगा ३५५ जातका फूलको खेती गरिएको छ। पहिलोपटक यस वर्ष भारतीय फूल आयात रोक्न धेरै हदसम्म सफलता मिलेको एसोसिएसनकी केन्द्रीय सदस्य तथा नेपालगन्जकी पुष्प व्यवसायी बिन्दु घर्तीमगरले बताइन्। किसानले नेपालगन्जको त्रिभुवनचोक, धम्बोझीचोक र कोहलपुरका विभिन्न स्थानमा फुटकर बिक्री केन्द्र खोलेर फूल बिक्री गरेका थिए।
