चाडपर्वको बेला जुवातासविरुद्ध धनुषा प्रहरीले चलाएको कारबाहीमा पाँच दिनको अवधिमा ३७ जना पक्राउ परेका छन्। जनकपुरधामका होटल, टेन्ट हाउस, बसपार्क र गाउँका घरहरूमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
कात्तिक ७ देखि २४ गतेसम्म भएका छुट्टाछुट्टै कारबाहीमा पक्राउ परेकाहरूको साथबाट नेपाली रुपैयाँ ३ लाख ४८ हजार १ सय ९ र भारतीय रुपैयाँ ३ हजार ५ सय बरामद भएको छ। त्यसबाहेक तासका गड्डी, मोबाइल फोन र दुई वटा सवारीसाधन पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
सबैभन्दा ठूलो कारबाही कात्तिक २३ गते बिहान करिब ५ः३० बजे जनकपुरधाम–१४ रजौलस्थित साजन टेन्ट हाउसमा भएको थियो, जहाँ तास खेलिरहेको अवस्थामा १८ जना पक्राउ परे। उनीहरूको साथबाट तीन गड्डी तास र १ लाख ६१ हजार ६ सय ४४ रुपैयाँ फेला परेको थियो।
त्यसअघि कात्तिक ७ गते जनकनन्दनी गाउँपालिका–२ बल्हाबाट सात जना, कात्तिक १९ गते बिहान जनकपुरधाम–२३ बसपार्कबाट दुई जना, कात्तिक २१ गते मध्यराति जनकपुरधाम–९ स्थित काली होटलबाट पाँच जना र कात्तिक २४ गते राति जनकपुरधाम–२ स्थित सिटी होटलबाट थप पाँच जना पक्राउ परेका थिए। बसपार्कबाट पक्राउ परेका दुई जनाको साथबाट एउटा स्कुटर र एउटा मोटरसाइकलसमेत बरामद भएको छ।
पक्राउ परेकामा जनकपुरधामका बासिन्दासहित महोत्तरी र सर्लाहीका व्यक्तिहरू पनि छन्। प्रहरीले उनीहरूमाथि आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
यसैबीच, साजन टेन्ट हाउसबाट पक्राउ परेकाहरूलाई छोड्नुपर्ने माग गर्दै स्थानीयबासीले मंगलबार साँझ जनकपुर–९ स्थित थापाचौकमा सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए। केही बेर आवतजावत अवरुद्ध भएको थियो। प्रहरी प्रवक्ता एवं डिएसपी ओमप्रकाश खनालले पक्राउ परेकालाई छुटाउन दबाब दिने उद्देश्यले स्थानीय तथा परिवारजन आन्दोलनमा उत्रिएको बताए। चाडपर्वका बेला जुवातास नियन्त्रणका लागि निगरानी र कारबाही तीव्र पारिएको प्रहरीले जनाएको छ।
