किराँत धर्मका महागुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती आज देशभर विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी मनाइँदै छ। विशेष गरी पूर्वी नेपालसहित देशका विभिन्न स्थानमा किराँत समुदायले यस दिनलाई उत्सव तथा विशेष पर्वका रूपमा श्रद्धापूर्वक मनाउँदै आएका छन्।
महागुरु फाल्गुनन्दको जन्म वि.सं. १९४२ साल कात्तिक २५ गते इलाम जिल्लाको चुक्चिनाम्बामा भएको थियो। उनी किराँत धर्म, भाषा, लिपि, संस्कार र संस्कृतिको उत्थान तथा संरक्षणका लागि जीवनभर समर्पित समाज सुधारक थिए। समाजमा व्याप्त विकृति, विसङ्गति र रुढिवादी परम्परालाई चिर्दै उनले मानिसलाई सत्मार्गमा डोर्याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।
जयन्ती मनाउनुको मुख्य उद्देश्य उनका सुविचार, सामाजिक सुधारका अभियान र राष्ट्रप्रतिको योगदानको स्मरण गर्नु हो। समाज सुधारका लागि उनले वि.सं. १९८८ साल वैशाख २४ गते जारी गरेको ‘सत्य धर्म मुचुल्का’ को नीति अत्यधिक प्रसिद्ध छ।
उनले विवाह, ब्रतबन्ध तथा अन्य संस्कारमा अत्यधिक खर्च हुने चलन र पशु बलिप्रथालाई रोक्न कडा सुधारका कदम चालेका थिए। साथै, मदिरा सेवन निषेध गर्ने, महिला शिक्षामा जोड दिने र किराँतीको मौलिक मुन्धुमी संस्कारलाई व्यवस्थित बनाउनेलगायतका कार्यमा उनको ठुलो योगदान रहेको छ।
समाजमा शान्ति, अहिंसा, लैङ्गिक समानता र नैतिकवान् जीवनशैलीको सन्देश फैलाउन उनको दर्शन प्रेरणादायी मानिन्छ। नेपाली समाज, संस्कृति र सुधारको क्षेत्रमा उनले पुर्याएको अतुलनीय योगदानको उच्च कदर गर्दै नेपाल सरकारले वि.सं. २०६६ साल मङ्सिर १६ गते उनलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो। उनको सम्झनामा सरकारले यस दिन किराँत धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदासमेत दिने गरेको छ।
