बर्दिया । बर्दियाको बाँसगढी नगरपालिका–५ स्थित मोतिपुर जंगल नजिकको भित्री सडकमा मंगलबार दिउँसो दुईवटा मोटरसाइकल आमनेसामने ठोक्किँदा एक जनाको ज्यान गएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।
दुर्घटनामा गुलरिया नगरपालिका–११ का २४ वर्षीय ओमकार थारुको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनलाई उपचारका लागि भारतको लखनउ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा बारबर्दिया नगरपालिका–३ बानियाभारका २५ वर्षीय आशिष थारु, भारतको लौकाइका १८ वर्षीय सहाबुदिन खान र जमाल खान गम्भीर घाइते भएका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
आशिष थारुले चलाएको भे ११ प ८५६७ नम्बरको मोटरसाइकलमा पछाडि सवार बाँसगढी नगरपालिका–७ का १८ वर्षीय रमन थारु सामान्य घाइते भएका थिए। उपचारपछि उनलाई अस्पतालले घर पठाइसकेको छ।
प्रहरीका अनुसार मंगलबार दिउँसो भे ५ प ९१६१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको भे ११ प ८५६७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा संलग्न दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।
