बलिउड सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘मातृभूमि’ को ट्रेलर सार्वजनिक भएको छ। साढे चार मिनेट लामो ट्रेलरमा नेपाली अभिनेता अनुपविक्रम शाही पटक–पटक देखिएका छन्। ट्रेलरका कैयौँ दृश्यमा उनी सलमान खानसँग आमनेसामने देखिनुले नेपाली फिल्मवृत्तमा छुट्टै चर्चा जन्माएको छ।
फिल्मको कास्टिङ सार्वजनिक गर्ने कार्यक्रममा निर्देशक अपूर्व लखियाले अनुपलाई फिल्ममा बलियो प्रोटागोनिस्टको भूमिका दिइएको बताए। उनका अनुसार फिल्मका लागि विशेष पात्र खोजिँदा विश्वभरबाट कास्टिङ गरिएको थियो र धेरै कलाकारले अडिसन दिएका थिए। त्यही प्रक्रियाबाट अनुप छानिएका हुन्। उनी काठमाडौंबाट सोझै ‘मातृभूमि’ को टोलीमा जोडिएका हुन्।
कार्यक्रममा अनुपले निर्देशक लखियालाई धन्यवाद दिँदै सलमान खानप्रति कृतज्ञता व्यक्त गरे। उनले सलमान आफ्नो जीवनमा देवदूत बनेर आएको र आफ्नो सपना वास्तविकतामा बदलिदिएको बताए। सलमानसँग पहिलो भेटमा आफू निकै नर्भस भएको उनले स्वीकारे। ट्रेलरमा गायक तथा अभिनेता प्रशान्त तामाङ पनि देखिएका छन्।
अनुप नेपाली सिनेमामा हिरो बन्ने सपना बोकेर आएका थिए। हिरोका रूपमा अभिनय गरेको उनको पहिलो फिल्म ‘ठमेल डट कम’ असफल भयो। त्यसपछि भिलेनका रूपमा अभिनय गरेको फिल्म ‘हँसिया’ ले भने उनलाई राम्रो चर्चा दिलायो। त्यसयता उनी प्रायः भिलेनकै भूमिकामा देखिँदै आएका छन्। अग्लो कद र सुगठित शरीरका कारण दर्शकबीच उनी ह्यान्डसम भिलेनका रूपमा चिनिन्छन्।
बलिउडमा सङ्घर्षरत धेरै कलाकारका लागि सलमान खानसँग एउटै फ्रेममा देखिनु सपना मात्र रहन्छ। अनुपका लागि भने त्यो सपना पूरा भएको छ। काठमाडौंबाट सोझै बलिउड पुगेका उनले नयाँ ढोका खोलेका छन्। अबको यात्रा उनको क्षमताले निर्धारण गर्नेछ।
