काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्र देखिएको मतभेद र राजनीतिक अनिश्चितता अन्त्य गर्न गणेशमान सिंहको त्याग र आदर्शलाई पछ्याउनुपर्ने बताएका छन्। काठमाडौंको शान्तिबाटिकामा गणेशमान सिंहको ११३औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा उनको सालिकमा माल्यार्पण गर्दै नेता सिंहले लोकतन्त्र र राष्ट्रियतामाथि चुनौती देखिँदा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर निर्णय गर्नुपर्नेमा जोड दिए।
उनले २०४६ सालको जनआन्दोलनपछि तत्कालीन राजाले प्रधानमन्त्री बन्न आग्रह गर्दा गणेशमान सिंहले आफू नबनी कृष्णप्रसाद भट्टराईलाई सिफारिस गरेको प्रसंग स्मरण गरे। त्यस निर्णयले प्रधानमन्त्री जनताको रोजाइबाट बन्नुपर्छ भन्ने लोकतान्त्रिक सन्देश दिएको उनको भनाइ छ।
गणेशमान सिंहले लोकतन्त्रलाई बलियो बनाउन आर्थिक क्रान्ति अपरिहार्य ठानेका थिए। बेरोजगारी अन्त्य, रोजगारी सिर्जना र जनताको जीवनस्तर उकास्नुपर्ने उनको जोड थियो। लोकतन्त्र राजनीतिक अधिकारमा मात्र सीमित नभई नागरिकको आर्थिक जीवन बदल्ने माध्यम बन्नुपर्ने नेता सिंहले बताए।
कांग्रेसभित्र विशेष महाधिवेशनबारे उठेको विवादमा नेता सिंहले पार्टीको विधान, नियम र स्थापित परम्पराविपरीत केही व्यक्ति भेला हुँदैमा त्यसलाई विशेष महाधिवेशन भन्न नमिल्ने जिकिर गरे। सभापति र केन्द्रीय कार्यसमितिको सहमतिबिना विशेष महाधिवेशन नहुने र १४औँ महाधिवेशनबाट निर्वाचित सभापति तथा केन्द्रीय कार्यसमितिलाई त्यस्तो भेलाले भङ्ग गर्न नसक्ने उनले स्पष्ट पारे।
बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र सुवर्णशमशेरजस्ता अग्रज नेताहरूले देखाएको सिद्धान्त र आदर्शको बाटोमा कांग्रेस अघि बढ्नुपर्ने र पार्टीभित्र एकता तथा विधिको शासन कायम गर्नुपर्ने उनको भनाइ छ।
