बेइजिङ । चीन र ब्राजिलबीचको सम्बन्धलाई चिनियाँ नागरिकले ‘ग्लोबल साउथ’ का विकासशील मुलुकबीचको एकता र सहकार्यको उदाहरणका रूपमा हेर्ने गरेको एउटा सर्वेक्षणले देखाएको छ। सर्वेक्षणमा सहभागी ७० प्रतिशतभन्दा बढीले दुई देशको सम्बन्धलाई ‘धेरै राम्रो’ वा ‘राम्रो’ भनेका छन् भने ९० प्रतिशतभन्दा बढीले दुई देशबीचको मित्रता चीनको भविष्यको विकासका लागि महत्त्वपूर्ण रहेको विश्वास व्यक्त गरेका छन्।
चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्स इन्स्टिच्युटले गरेको ‘चिनियाँ नागरिकले ब्राजिललाई कसरी हेर्छन् ?’ शीर्षकको सर्वेक्षणमा ६१ प्रतिशत सहभागीले ब्राजिलप्रति स्पष्ट रूपमा सकारात्मक धारणा राखेका छन्। ९० प्रतिशतभन्दा बढीले ब्राजिलप्रति सकारात्मक वा तटस्थ दृष्टिकोण अपनाएका छन् भने ६६ प्रतिशतले ब्राजिललाई चीनको मित्रराष्ट्र वा रणनीतिक साझेदारका रूपमा व्याख्या गरेका छन्।
सर्वेक्षणमा सहभागी ८० प्रतिशतभन्दा बढीले ब्राजिलबारे केही न केही जानकारी भएको बताएका छन्। ब्राजिल सम्झिँदा चिनियाँ नागरिकले सबैभन्दा पहिले फुटबल सम्झिने गरेका छन्— ७३ प्रतिशतले ब्राजिलसँग फुटबललाई जोडेर हेरेका छन् भने ४४ प्रतिशतले कृषि उत्पादन र खाद्यवस्तुलाई ब्राजिलको पहिचानका रूपमा उल्लेख गरेका छन्।
सन् २०२६ चीन र ब्राजिलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५२औं वर्ष हो। दुवै देशले यो वर्षलाई चीन–ब्राजिल सांस्कृतिक वर्षका रूपमा मनाइरहेका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङले अक्टोबर २७ मा ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई पुनर्निर्वाचित भएकोमा बधाई दिएका थिए।
व्यापार र पूर्वाधारमा दुई देशबीचको सहकार्य विस्तार हुँदै गएको छ। चीन ब्राजिलको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो। ब्राजिलबाट सोयाबिन, कच्चा फलाम र गाईको मासुलगायत कृषि उत्पादन चीनमा निर्यात हुँदै आएका छन्। ऊर्जा क्षेत्रमा चिनियाँ प्रविधिमा विकसित अल्ट्रा–हाई भोल्टेज प्रसारण प्रणाली ब्राजिलका विद्युत् परियोजनामा प्रयोग भएको छ भने चिनियाँ कम्पनीहरूले त्यहाँ जलविद्युत् केन्द्र सञ्चालन गरिरहेका छन्।
भविष्यमा सहकार्य विस्तार गर्नुपर्ने क्षेत्रबारे सोध्दा ७२ प्रतिशतले कृषि उत्पादन र खाद्य आपूर्ति शृंखला, ७० प्रतिशतले व्यापार तथा लगानी र ६९ प्रतिशतले पर्यटन तथा जनस्तरको आदानप्रदानलाई प्राथमिकतामा राखेका छन्। ९७ प्रतिशतले सांस्कृतिक तथा जनस्तरको आदानप्रदान थप विस्तार हुनुपर्ने बताएका छन्।
मे ११ देखि डिसेम्बर ३१ सम्म ब्राजिलले सामान्य राहदानी भएका चिनियाँ नागरिकलाई भिसाविना प्रवेश दिने नीति लागू गरेको छ। सर्वेक्षणमा सहभागी ९० प्रतिशत चिनियाँले अवसर मिलेमा पर्यटन, अध्ययन वा व्यवसायका लागि ब्राजिल जान चाहेको बताएका छन्। सर्वेक्षण सन् २०२६ अगस्ट ६ देखि २० सम्म चीनका ३१ प्रान्तस्तरीय क्षेत्रका १८ देखि ६९ वर्ष उमेर समूहका नागरिकबीच गरिएको थियो, जसमा कुल दुई हजार एक सय २४ वटा वैध प्रश्नावली संकलन गरिएको थियो।
