जुम्ला । जुम्लामा परम्परागत पानीघट्टहरू पछिल्लो समय लोप हुँदै गएका छन्। गाउँघरमा विद्युत्बाट सञ्चालन हुने मिल आएसँगै खोलाको पानीबाट चल्ने घट्टहरू सङ्कटमा परेको पातारासी गाउँपालिका–१ का स्थानीय गोविन्द बुढाले बताएका छन्।
ग्रामीण क्षेत्रका खोलाको पानीबाट चल्ने घट्टमा स्थानीयवासीले मकै, गहुँ, जौ, कोदो र फापरलगायत अन्न पिस्ने गर्दथे। आधुनिक विद्युतीय मिलको प्रयोग बढ्दै गएपछि गाउँका पानीघट्ट क्रमशः लोप हुँदै गएको बुढाको भनाइ छ।
गाउँमा आधुनिक मिल र बिजुली नपुगेका बेला पानीघट्ट अन्न पिस्ने साधन मात्र थिएन, गाउँको आत्मनिर्भर जीवनको महत्त्वपूर्ण आधारसमेत थियो। बिजुली, सडक र आधुनिक प्रविधिको पहुँच बढ्दै गएपछि पानीघट्टको प्रयोग घट्दै गएको सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए।
हाल प्रयोगविहीन रहेका पानीघट्टलाई कतिपयले सुधार गरी आधुनिक प्रविधिअनुसार पिसानी, तेल र काठ चिरानीसमेत गर्न सक्ने घट्ट बनाएर सञ्चालनमा ल्याएसँगै पुराना पानीघट्ट लोप हुने अवस्थामा पुगेको अध्यक्ष धितालको भनाइ छ।
कुनै समय जुम्लाका गाउँमा प्रचलनमा रहेका पानीघट्ट अहिले कतिपय ठाउँमा देख्नै मुस्किल हुन थालेका छन्। पानीघट्ट हराउँदै जाँदा त्यसको प्रयोग, बनावट र सञ्चालनसम्बन्धी परम्परागत ज्ञानसमेत नयाँ पुस्ताबाट टाढिँदै गएको अध्यक्ष धितालले बताए।
