नयाँ दिल्ली । विश्वकै सबैभन्दा धनी क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) विस्तारको बाटोमा अघि बढेको छ। भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले सन् २०२८ देखि लिगमा दुई नयाँ फ्रेन्चाइजी टोली थप्ने विषयमा गम्भीर छलफल थालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। योजना कार्यान्वयन भएमा आईपीएलमा टोलीको सङ्ख्या १० बाट बढेर १२ पुग्नेछ।
नयाँ टोलीका लागि पुणे र वडोदरा सहर अग्रपंक्तिमा देखिएका छन्। तर छलफल अझै प्रारम्भिक चरणमै रहेकाले अन्तिम सहरहरू परिवर्तन हुन सक्ने सम्भावना पनि रहेको छ।
यसअघि सन् २०२२ को सिजनअघि पनि लिगमा दुई टोली थपिएका थिए। त्यतिबेला आरपीएसजी ग्रुपले लखनउ सुपर जायन्ट्स ९४० मिलियन डलरमा र सिभिसी क्यापिटल पार्टनरले गुजरात टाइटन्स ७५० मिलियन डलरमा खरिद गरेका थिए।
आगामी नयाँ फ्रेन्चाइजीको मूल्य १ बिलियन डलर अर्थात् करिब आठ हजार नौ सय करोड रुपैयाँभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ। हालै रोयल च्यालेन्जर्स बैंगलुरु १.७८ बिलियन डलर र राजस्थान रोयल्स १.६५ बिलियन डलरको मूल्याङ्कनमा बिक्री भएका थिए।
नयाँ टोलीमा लगानीका लागि प्राइभेट इक्विटी फर्म, पश्चिम एसियाका सोभरेन वेल्थ फन्ड, अमेरिकी फेमिली अफिस र भारतीय व्यापारिक घरानाले चासो देखाएका छन्। लगानीकर्ताको सूचीमा प्राइभेट इक्विटी फर्म पर्गमिराको नाम पनि जोडिएको छ।
दुई टोली थप्ने छलफल आईपीएलको आगामी मिडिया राइट्स चक्र (सन् २०२८-२०३२) सँग जोडिएको छ। यसअघि सन् २०२३-२०२७ का लागि मिडिया राइट्स ६.२ बिलियन डलरमा बिक्री भएका थिए। टोली बढाउनुअघि बीसीसीआईले खेलाडीको उपलब्धता, अन्तर्राष्ट्रिय क्रिकेट तालिका र ब्रोडकास्टरहरूको रुचिबारे गहिरो विचार गर्नुपर्नेछ। खेलको सङ्ख्या बढ्दा प्रसारण खर्च पनि बढ्ने देखिन्छ।
पुणे सहरबाट यसअघि पनि दुई आईपीएल टोलीले प्रतिस्पर्धा गरिसकेका छन्। पुणे वारियर्स इन्डियाले सन् २०११ देखि २०१३ सम्म लिग खेलेको थियो। त्यसपछि सन् २०१६ र २०१७ मा राइजिङ पुणे सुपरजायन्टले सहभागिता जनाएको थियो। सन् २०१७ को सिजनमा यो टोली फाइनलसम्म पुगेर मुम्बई इन्डियन्ससँग केवल एक रनले पराजित भएको थियो।
