सुर्खेत । अछामको रामारोशन गाउँपालिका–५ का २६ वर्षीय राजेन्द्र रोकाया सुर्खेतको वीरेन्द्रनगर–८, रंगशालास्थित नवीनकुमार केसीको घरमा डेरा गरी बस्दै आएका थिए।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बिहीबार बिहान रोकाया आफू सुत्ने कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्। रोकाया विगत एक वर्षदेखि लोक सेवा आयोगको परीक्षा तयारीका लागि उक्त घरमा भाडामा बस्दै आएका थिए।
घटनाबारे जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटनाको गहिरो अनुसन्धानका लागि प्रहरी निरीक्षक श्यामप्रकाश यादवको कमान्डमा सोको (SOCO) सहितको प्रहरी टोली परिचालन गरिएको छ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक यादवले जानकारी दिएका छन्। प्रहरीले मृतकको परिवार र स्थानीयबासीलाई जानकारी गराइसकेको छ भने शवको पोस्टमार्टम प्रक्रिया अघि बढाउने तयारी गरेको छ।
लोक सेवा परीक्षा तयारीमा लागेका युवकको आकस्मिक निधनले वीरेन्द्रनगर र उनको घर अछाममा शोक छाएको छ।
