नुवाकोटको विदुर नगरपालिकाले भोटेकोशी नदीको बाढीमा हराएका ४१६ जनाको वडागत विवरण सार्वजनिक गरेको छ। नगर कार्यपालिकाको कार्यालयले मंगलबार सूचना जारी गर्दै हराएका व्यक्तिहरूको नामावली प्रकाशन गरेको हो। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएको थियो।
सार्वजनिक विवरणमा कुनै व्यक्तिको नाम, व्यक्तिगत पहिचान वा स्थायी ठेगाना विदुर नगरपालिकाबाहेक अन्यत्र भएको भए त्यसलाई सच्याउन नगरपालिकाले आह्वान गरेको छ। सूचीमा कसैको दाबी, विरोध वा कुनै किसिमको त्रुटि रहेको भए सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र आवश्यक प्रमाण तथा कागजातसहित लिखित रूपमा निवेदन पेस गर्नुपर्नेछ। यसका लागि नगरपालिकाको सूचना प्रविधि शाखामा सम्पर्क गर्न अनुरोध गरिएको छ।
नगरपालिकाले सूची सार्वजनिक गर्नुको उद्देश्य हराएका व्यक्तिहरूको विवरणमा हुन सक्ने त्रुटि सच्याउने अवसर दिनु रहेको जनाएको छ। विवरणमा नाम, ठेगाना वा पहिचानसम्बन्धी कुनै गल्ती देखिएमा सम्बन्धित व्यक्ति वा परिवारले तोकिएको समयभित्रै सम्पर्क गर्नुपर्नेछ। समयमै निवेदन नपरेमा सूची अन्तिम हुने र त्यसपछि मृत्यु घोषणाको सिफारिस प्रक्रिया सुरु हुने भएकाले नगरपालिकाले सबैलाई समयमै जाँच गर्न आग्रह गरेको छ।
तोकिएको तीन दिनको समयावधिभित्र विवरण सच्याउन वा सुधार गर्न कुनै निवेदन प्राप्त नभएमा नगरपालिकाले सार्वजनिक गरिएको सूचीलाई नै अन्तिम विवरणका रूपमा कायम गर्नेछ। त्यसलगत्तै हराएका व्यक्तिहरूको मृत्यु घोषणाको सिफारिस प्रक्रिया अगाडि बढाइने नगरपालिकाले स्पष्ट पारेको छ।
