जनकपुरधामको कदमचोकमा साँझ पर्दै जाँदा एउटा सानो ठेलाअगाडि ग्राहकको भीड लाग्छ। त्यो ठेला चलाउँछन् धनुषाको नगराइन नगरपालिका लगमा गाउँका ६४ वर्षीय मिथल साह र उनकी ६० वर्षीय श्रीमती गायत्री। पाँच–छ वर्षदेखि यो दम्पतीले यही ठेलाबाट मिथिला क्षेत्रका परम्परागत खाजा बेचेर परिवार धान्दै आएका छन्।
बिहान सात बजेदेखि नै यो जोडी कोठामै खाजा तयार पार्न थाल्छन्। दिउँसो दुई बजे ठेला लिएर कदमचोक पुग्छन् र राति आठ–नौ बजेसम्म व्यापार गर्छन्। भुजा, चिउरा, चना र केराउको छोला, कचरी, आलुचप, मौसमी तरकारीका पकौडा, लिट्टी र समोसा उनीहरूको ठेलाका मुख्य परिकार हुन्।
दिनमा एक हजार पाँच सयदेखि दुई हजार पाँच सय रुपैयाँसम्मको कारोबार हुने मिथल बताउँछन्। तर त्यो रकम शुद्ध आम्दानी नभएको उनको भनाइ छ। खाजाका सामग्री, तेल र इन्धनको खर्च कटाएपछि बाँकी रकमले डेराभाडा र दैनिक खर्च धान्नुपर्छ। त्यसैले बचत नगण्य छ।
नेपालमा रोजगारी नपाएपछि मिथल करिब १५ वर्ष भारतको आसाममा बसेका थिए। त्यहाँ उनले एउटा कलेजको छात्रावासमा ६० देखि ७० जना विद्यार्थीका लागि खाना पकाउने गर्थे र महिनामा छ देखि सात हजार भारतीय रुपैयाँ तलब पाउँथे। त्यही कमाइले छोराछोरी पढाए पनि आफ्ना लागि सम्पत्ति जोड्न नसकेको उनको गुनासो छ। परिवारको नाममा लगमा गाउँमा एक धुर जग्गामा बनेको कच्ची घरमात्रै छ।
गायत्रीको स्वास्थ्य पनि कमजोर हुँदै गएको छ। शरीर बेलाबेला सुन्निने समस्या छ, तर उनी नबसे व्यापार चल्दैन। विगतमा नगरपालिकाले ठेला हटाउने र सामान उठाएर लैजाने गरेको भए पनि पछिल्ला महिनादेखि त्यस्तो धरपकड कम भएको मिथलको अनुभव छ। साना व्यापारीका लागि सरकारले विकल्प दिनुपर्ने उनको माग छ। भर्खरै कक्षा १२ उत्तीर्ण गरेकी छोरी राखीलाई बैंकिङ क्षेत्रमा रोजगारी पाउने गरी पढाउने यो दम्पतीको सपना हो।
