जनकपुरधाम । नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मधेश प्रदेश सरकार अल्पमतमा परेको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवले अबको २० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने बाध्यता आइपरेको छ । समर्थन फिर्ता लिएको १९ दिन बितिसक्दा पनि सरकार जोगाउने कसरत जारी छ ।
अहिले मुख्यमन्त्री यादवलाई आफ्नै दल कांग्रेसका २२ र नेकपाका १५ गरी ३७ सांसदको मात्र साथ छ । तर विश्वासको मत जित्न कम्तीमा ५४ सांसदको समर्थन चाहिन्छ । त्यसैले उनले जसपा नेपाललाई साथमा ल्याउनुपर्ने वा एमालेको समर्थन फर्काउनुपर्ने अंकगणित बनेको छ ।
१०७ सदस्यीय प्रदेशसभामा जसपा नेपाल २७ सिटसहित सबैभन्दा ठूलो दल हो । एमाले २३ सिटसहित दोस्रो, कांग्रेस २२ सिटसहित तेस्रो र नेकपा १५ सिटसहित चौथो स्थानमा छन् । जनमत पार्टीका १२ तथा संघीय समाजवादी पार्टी र राप्रपाका एक–एक सांसद छन् ।
यसैबीच जसपा नेपाल र एमालेलगायत दल नयाँ समीकरणको गृहकार्यमा छन् । १५ बुँदे तीनदलीय सहमति कार्यान्वयन नभएको भन्दै एमालेले गत ३० असोजमा आफ्ना चार मन्त्रीलाई राजीनामा गराएर समर्थन फिर्ता लिएको थियो । एमाले संसदीय दलका नेता सरोजकुमार यादव आफ्नै नेतृत्वमा सरकार बनाउने प्रयासमा रहेको स्रोतको भनाइ छ भने अर्कोतर्फ जसपा नेपालको नेतृत्वमा सरकार बनाउने गृहकार्य भइरहेको पनि बताइएको छ ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले भने एमालेसँग मिलेर सरकारमा जाने कुनै निर्णय नभएको र तत्काल नयाँ सरकार गठन सम्भव नरहेको बताएका छन् । जनमत पार्टीले जसपा नेपालको नेतृत्वमा सरकार बनेमा समर्थन गर्ने तयारी रहेको बताइए पनि पार्टीभित्र अहिलेसम्म छलफल नभएको सांसद चन्दन सिंहको भनाइ छ । नेकपाले पनि सरकारबारे कुनै निर्णय नगरेको संसदीय दलका नेता युवराज भट्टराईले बताएका छन् ।
