संयुक्त राष्ट्रसंघको स्वतन्त्र छानबिन आयोगले सोमबार सार्वजनिक गरेको प्रतिवेदनले गत वर्ष अक्टोबरमा अमेरिकी मध्यस्थतामा भएको युद्धविरामपछि पनि गजामा इसराइलले प्यालेस्टिनीलाई पूर्ण वा आंशिक रूपमा नष्ट गर्ने मनसायसहित नरसंहारजन्य कार्य जारी राखेको निष्कर्ष निकालेको छ।
प्रतिवेदनअनुसार युद्धविराम लागु हुँदा गजाको ५३ प्रतिशत भूभाग इसराइली नियन्त्रणमा थियो, अहिले त्यो हिस्सा कम्तीमा ६० प्रतिशत पुगेको छ। अस्थायी सीमांकन भनिएको ‘यलो लाइन’ क्रमशः स्थायी सीमाजस्तै बन्दै गएको आयोगको भनाइ छ। घना बस्तीमा भारी हतियार, ड्रोन, तोप र स्नाइपरको प्रयोग युद्धविराम अवधिमा पनि जारी रहेको र अगाडि बढिरहेको मोर्चामा इसराइली गोलीबाट कम्तीमा १९६ प्यालेस्टिनी मारिएको प्रतिवेदनमा उल्लेख छ, जसमा १८ महिला, ३२ बालक र ११ बालिका छन्।
वेस्ट बैंकको अवस्था झन् बिग्रिएको प्रतिवेदनले औँल्याएको छ। सन् २०२३ को अक्टोबर ७ देखि २०२६ को सेप्टेम्बर ३० सम्म हवाई आक्रमणमा २५४ प्यालेस्टिनी मारिए, जबकि त्यसअघि सन् २००८ देखि २०२३ को अक्टोबर ६ सम्म यस्ता मृत्यु ६ मात्र थिए। सन् २०२५ को जनवरीदेखि तीव्र भएका सैन्य कारबाहीका कारण अगस्ट २०२६ सम्म ३४ हजार १७६ प्यालेस्टिनी विस्थापित भएका छन्, जुन सन् १९६७ पछिकै सबैभन्दा ठूलो विस्थापन हो।
आयोगका अध्यक्ष श्रीनिवासन मुरलीधरले सर्वसाधारणको हत्या, घाइते र घर भत्काउने कार्य प्यालेस्टिनीलाई उन्मूलन र विस्थापित गर्ने व्यापक रणनीतिकै अंग भएको बताएका छन्। प्रतिवेदनले प्यालेस्टिनी प्राधिकरणले असहमति जनाउनेमाथि कारबाही गरेको र आफ्ना सुरक्षा बलमाथिका आरोपको प्रभावकारी छानबिन नगरेको भन्दै आलोचना पनि गरेको छ। इसराइलले भने प्रतिवेदनलाई अस्वीकार गर्दै जेनेभास्थित आफ्नो नियोगमार्फत यसलाई इसराइललाई बदनाम गर्ने गलत सूचना अभियान भनेको छ।
