डब्लिन — अमेरिकी र्यापर म्याकलमोरले गाजामा इजरायलले चलाइरहेको सैन्य कारबाहीको विरोधमा आफ्नो आवाज नरोकिने बताएका छन्। प्यालेस्टिनी जनताको समर्थनमा आयोजना गरिएको उनको ‘फ्री प्यालेस्टाइन’ कन्सर्ट टुर सोमबार आयरल्यान्डको राजधानी डब्लिनबाट सुरु भएको हो।
ग्रामी अवार्ड विजेता म्याकलमोरले थ्री–एरिना रङ्गशालामा हजारौँ दर्शकसामु प्यालेस्टिनी जनतासँगको ऐक्यबद्धता व्यक्त गरे। उनले आफू मञ्चमा उभिन पाउँदा गर्व लागेको र सामूहिक मुक्तिका लागि अन्तिम साससम्म सङ्घर्ष जारी राख्ने बताए। प्रस्तुतिका क्रममा उनले लामो समय प्यालेस्टिनी झन्डा फहराए भने दर्शकहरूले पनि झन्डा र केफिया स्कार्फसहित साथ दिए।
कन्सर्टका लागि उपलब्ध १३ हजार टिकट केही मिनेटमै बिक्री भएका थिए। कार्यक्रमभरि दर्शकहरूले ‘फ्री, फ्री प्यालेस्टाइन’ भन्दै नारा लगाए। म्याकलमोरले करिब ६ साताअघि अमेरिकाको न्यू जर्सीस्थित मेटलाइफ रङ्गशालामा प्यालेस्टाइनको पक्षमा बोलेको प्रसङ्ग सम्झँदै केवल दुई शब्दले सबै कुरा बदलिदिएको बताए। ती दुई शब्दलाई त्यसको पछाडिको पीडाभन्दा बढी विवादास्पद बनाइएको उनको भनाइ थियो।
प्यालेस्टाइनको पक्षमा बोलेपछि उनलाई चर्चित गायक एड सिरानको अमेरिकी टुरबाट हटाइएको थियो। सिरानले उक्त निर्णय आफ्नो नभएको र रङ्गशाला सञ्चालकहरूले म्याकलमोर सहभागी भए थप कार्यक्रम गर्न नदिने चेतावनी दिएको बताएका थिए। डब्लिनको कार्यक्रममा होजियर र निपक्यापलगायत आयरल्यान्डका कलाकारहरूले पनि प्रस्तुति दिएका थिए।
यो टुर यसै साता पेरिस र लन्डनमा जारी रहनेछ भने अमेरिकाका कार्यक्रमको मिति पछि घोषणा गरिनेछ। प्यालेस्टिनी अधिकारीहरूका अनुसार सन् २०२३ अक्टोबर ७ को आक्रमणपछि सुरु भएको इजरायली कारबाहीमा गाजामा ७४ हजारभन्दा बढी मानिस मारिएका छन्।
