वेलिङटनमा मंगलबार भएको तेस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा भारतीय ब्याटरहरूले यस्तो सुरुआत गरे, जसले क्रिकेटको कीर्तिमान पुस्तक नै फेरिदियो। १९९ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको भारतले पहिलो ६ ओभरमै कुनै विकेट नगुमाई ११८ रन जोड्यो।
यो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पावरप्लेमा बनेको अहिलेसम्मकै सबैभन्दा ठूलो स्कोर हो। यसअघि सन् २०२४ मा अस्ट्रेलियाले स्कटल्यान्डविरुद्ध पावरप्लेमा ११३ रन बनाएको थियो। भारतले त्यो कीर्तिमान पाँच रनले सुधार गर्दै नयाँ इतिहास रच्यो।
कीर्तिमानको शृङ्खला त्यतिमै रोकिएन। भारतले मात्र ३० बलमा टोलीको सय रन पूरा गर्यो, जुन टी–२० अन्तर्राष्ट्रियमा कुनै पनि टोलीले बनाएको सबैभन्दा छिटो शतक हो। यसअघि दक्षिण अफ्रिकाले सन् २०२३ मा वेस्ट इन्डिजविरुद्ध ३३ बलमा सय रन बनाएको थियो। त्यस्तै, १४ बलमै अर्धशतक पूरा गर्दै भारतले पपुवा न्युगिनी र रोमानियाको संयुक्त विश्व कीर्तिमानसँग बराबरी पनि गर्यो।
ओपनर अभिषेक शर्माले आक्रामक ब्याटिङ गर्दै १५ बलमै अर्धशतक पूरा गरे। उनले काइल ज्यामिसनको एक ओभरमा तीन चौका र दुई छक्कासहित २० रन बटुले। अभिषेक १७ बलमा ५९ रन बनाएर फर्किए। अर्का ओपनर वैभव सूर्यवंशीले १९ बलमा ४५ रनको योगदान दिँदै उनलाई राम्रो साथ दिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा तीन विकेट गुमाएर १९८ रन बनाएको थियो। ड्यारिल मिचेलले ५२ बलमा अविजित ८९ रनको इनिङ्स खेले भने फिन एलेनले ४० र बेभन ज्याकोब्सले ३९ रन जोडे। भारतका लागि अक्षर पटेल, अर्शदीप सिंह र नीतिश कुमार रेड्डीले एक–एक विकेट लिए।
