काठमाडौं महानगरपालिका–१४ कलङ्कीमा रहेको सांसद उर्मिला थपलियाको डेरामा चोरी गरेको आरोपमा प्रहरीले चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा २५ वर्षीय विकास पोदार, १९ वर्षीय राजु कुमार भन्ने राज पोदार, २३ वर्षीय राजेन्द्र पोदार भन्ने राजेन्द्र कुमार र ४६ वर्षीया विणा देवी छन्। उनीहरू बिहारको समस्तीपुर र हाजीपुरका बासिन्दा हुन्।
अनुसन्धानअनुसार विकास र विणा आमाछोरा हुन् र कालिमाटीमा बस्दै आएका थिए। राज पोदार र राजेन्द्र कुमार सतुंगलमा बसोबास गर्थे। समूहले कवाडी सङ्कलन गर्ने भेषमा साइकलमा हिँडेर दिउँसो ताला लागेका घरहरूको रेकी गर्ने र साँझ कोही नभएको निश्चित भएपछि प्रवेश गर्ने गरेको खुलेको छ।
दसैँ बिदामा परिवार उपत्यका बाहिर गएका बेला कात्तिक १ देखि ५ गतेको बीचमा चोरी भएको थियो। परिवार फर्केपछि कात्तिक ५ मा मात्र घटना थाहा भएको थियो। डेराबाट ८ तोला सुन र ८० हजार रुपैयाँ नगद लगिएको प्रहरीले जनाएको छ। आरोपीहरूले फलामको रडले ढोका र दराज फुटाउने गरेको र सांसदको डेराको ढोका सात ठाउँमा फुटाइएको अधिकृतहरूले बताएका छन्।
विणा देवीले नै समूहको सञ्चालन गर्ने र चोरीका सुन तथा गहना व्यवस्थापन गर्ने गरेको प्रहरीको भनाइ छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रामेश्वर कार्कीले कवाडी सङ्कलकको आवरणमा चोरी हुने गरेको बताएका छन्। राजेन्द्र कुमारले फिल्डमा कमान्ड गर्ने गरेको र चारै जना पटके चोर रहेको रेकर्डमा देखिएको छ।
सोही समूहले कात्तिक ६ मा रञ्जित कोलोनीस्थित निरञ्जन नेपालको घरमा पनि चोरी गरेको अनुसन्धानले देखाएको छ। छिमेकीले देखेपछि उनीहरू भागेका थिए। चोरीको सामान व्यवस्थापन गरी भारत जान लागेका बेला उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
