काठमाडौँ — कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक लिला पिटर्स यहियाबीच मंगलबार मन्त्रालयमा भेटवार्ता भएको छ। भेटमा नेपालको जलवायु कार्यसूची अघि बढाउने, जलवायुजन्य विपद्का सवाल अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउने र संयुक्त राष्ट्रसङ्घीय निकायसँगको सहकार्य थप बलियो बनाउने विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ।
मन्त्री चौधरीले ‘लिभिङ सगरमाथाः माउन्टेन एजेन्डा’ स्वीकृत भइसकेको जानकारी दिँदै कात्तिक १२ गते काठमाडौँमा हुने राष्ट्रिय जलवायु शिखर सम्मेलनमा उक्त एजेन्डा सार्वजनिक गरिने बताइन्। सम्मेलनलाई जलवायु एजेन्डा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा अघि बढाउने अवसरका रूपमा हेरिएको छ।
कोप–३१ मा नेपालले भोगेका जलवायुजन्य विपद्का अनुभव, त्यसका प्रभाव र चुनौती अन्तर्राष्ट्रिय समुदायसामु प्रस्तुत गर्न विशेष प्याभिलियन राख्ने तयारी भइरहेको छ। प्याभिलियन सञ्चालनका लागि चाहिने खर्च व्यवस्थापनमा संयुक्त राष्ट्रसङ्घीय निकायको सहयोग अपेक्षा गरिएको मन्त्री चौधरीले बताइन्।
भोटेकोशी बाढीजस्ता जलवायुजन्य विपद्का विषयलाई अन्तर्राष्ट्रिय तहमा प्राथमिकताका साथ उठाउन सरकारी निकायको प्रतिनिधित्व र सहयोग जरुरी रहेको उनको भनाइ थियो। कोप–३१ मा युवा पुस्ता, विशेषगरी जेनजी युवा तथा सञ्चारकर्मीको सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न आवश्यक सहयोगबारे पनि छलफल भएको थियो।
भेटमा जलवायु परिवर्तनका असर घटाउने, नेपालका अनुभव र चुनौती अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गर्ने तथा सरकार, विकास साझेदार, संयुक्त राष्ट्रसङ्घीय निकाय र नागरिक समाजबीचको सहकार्य सुदृढ गर्ने विषयमा जोड दिइएको थियो।
