जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्ना तीन जना मेडिकल अधिकृतलाई तीन दिनभित्र कार्यालयमा उपस्थित हुन अन्तिम पटक ताकेता गरेको छ। प्रतिष्ठानको रजिस्टार कार्यालयले बुधबार सार्वजनिक गरेको सूचनामा तोकिएको अवधिभित्र हाजिर नभए सेवाबाट हटाउने प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ। यसअघि धेरै पटक बोलाउँदा पनि उनीहरू नआएपछि प्रतिष्ठानले यस्तो कडा कदम चालेको हो।
सूचनामा डा. सङ्गीता न्यौपाने, डा. दिरिश्य विश्वकर्मा र डा. नविन कुमार मण्डलको नाम उल्लेख छ। उनीहरू प्रतिष्ठानमा मेडिकल अधिकृतका रूपमा कार्यरत थिए। प्रतिष्ठानका अनुसार उनीहरूको परीक्षणकाल पूरा भएको छैन। परीक्षणकाल पूरा नभएको र प्रतिष्ठानलाई उनीहरूको आवश्यकता नदेखिएको कारण उनीहरूले मागेको अध्ययन बिदा स्वीकृत भएन।
अध्ययन बिदा अस्वीकृत भएपछि पनि उनीहरूलाई पटक-पटक कार्यालय आउन भनिएको थियो। तर, पटक-पटकको ताकेतापछि पनि उनीहरू कार्यालयमा उपस्थित नभएको प्रतिष्ठानले जनाएको छ। त्यसैले सूचना प्रकाशित भएको दिनदेखि तीन दिनभित्र अनिवार्य रूपमा उपस्थित भई हाजिर हुन अन्तिम पटक आग्रह गरिएको हो।
तोकिएको समयमा पनि उपस्थित नभए कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीका सेवाका सर्त र सुविधा सम्बन्धी नियमावली, २०६९ (संशोधित २०८१ समेत) बमोजिम प्रचलित कानुनअनुसार सेवाबाट हटाउने प्रक्रिया सुरु गरिने सूचनामा उल्लेख गरिएको छ।
