पोखरामा जेन्जी आन्दोलनसँग जोडिएका मुद्दा, थुनामा रहेका व्यक्तिको रिहाइ र १० बुँदे सम्झौताको कार्यान्वयनबारे छलफल भएको छ। जेन्जी आन्दोलन मुद्दा सम्बोधन दबाब समूहले पोखरा–३ को तेर्सापट्टीस्थित पोखरा सेन्ट्रल ओसिसमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो।
कार्यक्रममा जेन्जी अगुवा, मुद्दाका पीडित, उनीहरूका अभिभावक र स्थानीय पत्रकारहरूको उल्लेख्य सहभागिता थियो। सरकारले सीमित मुद्दा मात्र फिर्ता गर्ने तयारी गरिरहेको भन्ने कुराले पीडित र तिनका परिवारमा चिन्ता बढिरहेको बेला सरोकारवालाबीच गहन छलफल गरेर न्यायका लागि साझा आवाज बनाउने उद्देश्य राखिएको आयोजकले बताएको छ।
कार्यक्रमका मुख्य वक्ता जेन्जी अगुवा सरिश्मा थापा र मोनिका निरौलाले आन्दोलनमा सहभागी भएकै कारण मुद्दा खेपिरहेका व्यक्तिको न्याय सुनिश्चित गर्नुपर्ने बताए। उनीहरूले राजनीतिक प्रकृतिका मुद्दा फिर्ता लिन र थुनामा रहेका बन्दीहरूलाई बिनाशर्त रिहा गर्न सार्वजनिक बहस र निरन्तर दबाब आवश्यक रहेकोमा जोड दिए। विगत एक वर्षदेखि उनीहरूले राष्ट्रिय स्तरमा मुद्दा फिर्ताको माग उठाउँदै आएका छन्।
दबाब समूहका अध्यक्ष खली थापा, उपाध्यक्ष विवेक नाल्मी, सहसचिव शान्ति साइ र नागरिक अभियन्ता चन्द्रबहादुर गुरुङले सम्झौता अक्षरशः कार्यान्वयन गराउन दबाबमूलक कार्यक्रम निरन्तर राख्नुपर्ने धारणा राखे। कार्यक्रममा कारागारमा रहेका आफन्तको अवस्थाबारे पीडित परिवारका सदस्यहरूले आफ्ना पीडा, चिन्ता र अपेक्षा पत्रकारहरूसमक्ष राखेका थिए। उनीहरूले न्याय, मुद्दा फिर्ता र रिहाइमा सम्बन्धित निकायले गम्भीर पहल गर्नुपर्ने बताए।
दबाब समूहका सचिव राजन श्रेष्ठले तथ्यपरक र जिम्मेवार पत्रकारितामार्फत यी विषयलाई सार्वजनिक बहसमा ल्याउन सहयोग गर्ने पत्रकार, पीडित परिवार, जेन्जी अगुवा र सरोकारवालालाई धन्यवाद दिए। आन्दोलनका माग, पीडितको न्याय र १० बुँदे सम्झौताको कार्यान्वयन सुनिश्चित नभएसम्म सम्बन्धित निकायलाई निरन्तर खबरदारी गरिरहने आयोजक समूहले जनाएको छ।
