असोजको दोस्रो सातामा आएको बाढीपहिरोपछि म्याग्दीका सरकारी कार्यालयमा नियमित सेवा अझै सहज हुन सकेको छैन। बेनी नगरपालिका–७ मा रहेका कार्यालय भवनमा बाढी पसेपछि भुइँतलाका कोठामा राखिएका कागजात, अभिलेख, कम्प्युटर, फर्निचर र उपकरणमा ठूलो क्षति पुगेको छ।
असोज ११ गते बिहान बराहपाखोबाट आएको बाढी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, डिभिजन वन कार्यालय र बेनी नगरपालिकाको भवनमा पसेको थियो। भुइँतलाका कोठा माटोले पुरिएपछि ती कार्यालयको कामकाजमा असर परेको हो।
पशु सेवा केन्द्रले नयाँ भवनबाट काम थालेको छ। तर महत्त्वपूर्ण कागजात र उपकरण नष्ट भएकाले काम गर्न कठिन भइरहेको पशु विकास अधिकृत गोपाल गिरीले बताए। उनका अनुसार यसअघि कार्यालय रहेका दुई भवनका भुइँतलाका सात कोठामा रहेका सबै सामग्री र कागजात नष्ट भएका छन्।
गण्डकी प्रदेश सरकारले दुई वर्षअघि बेनी–७ मङ्गलाघाटमा ४७ लाख रुपैयाँ खर्चेर निर्माण गरेको सातकोठे एकतले भवनबाट अहिले सेवा दिइँदै छ। पुरानो भवन पुरिएपछि सोही भवन प्रयोगमा ल्याइएको हो। कार्यालय परिसरमा राखिएका सवारीसाधनसमेत बाढीमा पुरिएका थिए।
भेटेरिनरी अस्पताल र डिभिजन वन कार्यालय परिसरमा थुप्रिएको माटो हटाउने काम अझै पूरा भएको छैन। बेनी नगरपालिकाको भुइँतलामा रहेका कृषि र पशु सेवा शाखाले माटो पन्छाएर सेवा सुरु गरे पनि भेटेरिनरी र वन कार्यालयको नियमित काम सहज हुन सकेको छैन।
डिभिजन वन कार्यालयको योजना शाखाका तीन कोठामा पनि क्षति पुगेको थियो भने सवारीसाधन राख्ने ग्यारेज भत्किएको थियो। भुइँतलाका शाखा र कार्यकक्ष नजिकैको भू तथा जलाधार व्यवस्थापन कार्यालयको एकाइ भवनमा सारेर काम सुरु गरिएको डिभिजनल वन अधिकृत वसन्तकेशव अधिकारीले बताए। उनका अनुसार फर्निचर, कम्प्युटर, अभिलेख, प्रिन्टर र कागजात नष्ट भएकाले समस्या भएको छ भने क्षतिग्रस्त भवन मर्मतका लागि बजेट अभाव पनि चुनौती बनेको छ।
