नेपाल प्रिमियर लिगको तेस्रो संस्करण सुरु हुनुअघि पोखरा एभेन्जर्सले टोलीमा अनुभवी खेलाडी थपेको छ। श्रीलंकाका विकेटकिपर ब्याटर सदिरा समराविक्रमासँग सम्झौता भएको टोलीले जनाएको छ। बुधबार सुदूरपश्चिम रोयल्सविरुद्ध हुने पहिलो खेलअघि ३१ वर्षीय खेलाडी टोलीमा सामेल भएका हुन्। उनको आगमनले ब्याटिङमा गहिराइ थपिनुका साथै विकेटपछाडिको जिम्मेवारी पनि बलियो हुने विश्वास टोलीको छ।
समराविक्रमा यस संस्करणका लागि पोखरामा आउने तेस्रो श्रीलंकाली खेलाडी हुन्। उनी टोलीका छैटौं विदेशी खेलाडी पनि हुन्। यसअघि टोलीले ब्याटिङ अलराउन्डर धनञ्जय लक्षणलाई कायम राखेको थियो भने पेस बलिङ अलराउन्डर चमिका करुणारत्नेलाई नयाँ रूपमा भित्र्याएको थियो। त्यससँगै बंगलादेशका तीन अलराउन्डर शाकिब अल हसन, मोहम्मद सैफुद्दिन र महेदी हसन पनि पोखराकै टोलीमा छन्।
अन्तर्राष्ट्रिय अनुभवका हिसाबले समराविक्रमा निकै अगाडि छन्। उनले श्रीलंकाका लागि तीनवटै ढाँचामा खेलेका छन् — नौ टेस्ट, ५५ एकदिवसीय अन्तर्राष्ट्रिय र १९ टी–२० अन्तर्राष्ट्रिय। उनी सन् २०२४ को टी–२० विश्वकपमा श्रीलंकाको टोलीमा पनि थिए। घरेलु टी–२० प्रतियोगिता लंका प्रिमियर लिगमा उनले चार फरक टोलीबाट खेलिसकेका छन्।
कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले यस सिजन प्रशिक्षक पनि फेरेको छ। श्रीलंकाका पूर्वखेलाडी अजन्था मेन्डिस मुख्य प्रशिक्षक बनेका छन् भने भारतका पूर्वखेलाडी तथा टी–२० विश्वकप विजेता इरफान पठान क्रिकेट एम्बासडरका रूपमा जोडिएका छन्। अनुभवी खेलाडीसँगै युवा नेपाली प्रतिभालाई समेटेर सन्तुलित टोली बनाउने प्रयासमा रहेको पोखराको लक्ष्य यसपटक पहिलो पटक उपाधि जित्नु हो।
