जर्मनी सरकारकी उच्च अधिकारी डा. बार्बेल कोफ्लर चार दिने भ्रमणका लागि बुधबार काठमाडौं आइपुगेकी छन्। उनी जर्मनीको आर्थिक सहयोग तथा विकास मन्त्रालय हेर्ने मन्त्रीकी संसदीय राज्यसचिव हुन्।
भ्रमणका क्रममा कोफ्लरले नेपाल र जर्मनीबीच चलिरहेको विकास साझेदारीको समीक्षा गर्नेछिन्। महिला अधिकार र स्वास्थ्य सेवा उनका छलफलका प्रमुख विषय हुनेछन्। भोटेकोशी क्षेत्रमा आएको बाढीले पुर्याएको क्षति र त्यसपछिको राहत तथा पुनर्निर्माणबारे पनि उनी जानकारी लिनेछिन्।
काठमाडौंमा रहँदा उनले सरकारी अधिकारी, नागरिक समाजका प्रतिनिधि र विकास साझेदार संस्थाका पदाधिकारीसँग भेट गर्नेछिन्। ती भेटमा दुई देशबीचको सहकार्यलाई अझ बलियो बनाउने उपाय खोजिने दूतावासले जनाएको छ।
जर्मनीले भोटेकोशी बाढीको प्रतिकार्यका लागि एक करोड १० लाख ६१ हजार युरो सहयोग दिएको छ। यो रकम तत्काल राहत, प्रभावित क्षेत्रमा स्वास्थ्य र ऊर्जा पूर्वाधारको आपूर्ति तथा दीर्घकालीन पुनर्निर्माणमा प्रयोग हुनेछ।
कोफ्लर नुवाकोट पुगेर बाढी प्रभावित बस्तीको अवस्था आफैं हेर्नेछिन्। त्यहाँ उनले स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी र पीडित नागरिकसँग कुरा गरी राहत र पुनःस्थापनाका आवश्यकता बुझ्नेछिन्। काठमाडौंमा उनले जर्मन सहयोगमा सञ्चालित स्वास्थ्य संस्थाको पनि अवलोकन गर्नेछिन्।
छलफलमा नेपालको पछिल्लो विकास, चुनौती, गत वर्षको जेन्जी आन्दोलन र सङ्क्रमणकालीन न्यायका विषय पनि उठ्नेछन्। सन् २००४ देखि जर्मन संसद्की सदस्य रहेकी कोफ्लर सन् २०२१ देखि यो जिम्मेवारीमा छिन्। उनले सन् २०२२ मा पनि नेपाल भ्रमण गरेकी थिइन्।
