सुनसरीको चारकोसे जंगलमा भेटिएको पानी बेसारे नामको वनस्पतिले नेपालको वनस्पति अध्ययनमा नयाँ अध्याय थपेको छ। बेसारजस्तो देखिने यो वनस्पति म्यारान्टेसी परिवारको फ्रिनियम वंशको भएको पुष्टि भएको छ। यो वंश नेपालमा पहिलोपटक फेला परेको हो, जसले नेपालको जैविक विविधतामा नयाँ वंश थपिएको छ।
यस वनस्पतिलाई अङ्ग्रेजीमा प्याकिङ लिफ भनिन्छ। यसको पात खाना पोको पार्न प्रयोग हुँदै आएको छ। सुनसरीमा भेटिएको प्रजाति फ्रिनियम पुबिनर्भ हो। यो प्रजाति पपुवा न्युगिनीदेखि नेपालसम्म दुई दर्जनभन्दा बढी देशमा पाइने जानकारी छ। यसको फूल गत वैशाखमा पहिलोपटक देखिएको थियो, त्यसपछि यसको पहिचान निश्चित भएको हो।
यसअघि फ्रिनियम प्लासेन्टारियम नामको वनस्पति नेपालमा पाइने उल्लेख थियो। पछि गरिएको अध्ययनले त्यो नाम गलत भएको देखायो। सन् २००३ मा उक्त वनस्पतिलाई स्ट्याकिफ्रिनियम वंशमा सारिएको थियो। त्यसैले सुनसरीमा भेटिएको वनस्पतिसँगै फ्रिनियम वंश नै नेपालका लागि नयाँ भएको हो।
म्यारान्टेसी परिवारका वनस्पतिमा विस्फोटक परागण प्रणाली हुन्छ। किरा फूलमा बस्दा परागकणको थैलो एक झट्कामा निस्केर किराको शरीरमा टाँसिन्छ। यस परिवारमा २७ वंशमा करिब ५५० प्रजाति पहिचान भएका छन्। यो परिवारका वनस्पति करिब ११ करोड वर्षअघि नै उद्विकास भइसकेका थिए भन्ने आनुवंशिक अध्ययनले देखाएको छ।
यस वनस्पतिको पातमा सिरिन्जिक एसिड, पी–कौमारिक एसिड र रोजमारिनिक एसिडजस्ता उपयोगी रसायन पाइने अध्ययनले देखाएको छ। यी रसायनमा एन्टिअक्सिडेन्ट, एलर्जी र भाइरसविरुद्ध लड्ने गुण हुने बताइएको छ। त्यसैले यो खोजले नेपालको जैविक विविधताको संरक्षण र थप अनुसन्धानको आवश्यकता औँल्याएको छ।
