बागलुङका बाढीपहिरो प्रभावित स्थानीय तहमा तत्काल राहत र मर्मतका काम अघि बढाउन सङ्घीय सरकारले पहिलो चरणमा दुई करोड रुपैयाँ उपलब्ध गराएको छ। जिल्ला प्रशासन कार्यालयमा रकम आइपुगेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताएका छन्।
गत असोज ११ गतेको बाढीपहिरोले पश्चिम बागलुङमा धनजनको ठूलो क्षति पुर्याएको थियो। त्यसपछि सरकारले छ वटा स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो। अहिले प्राप्त रकम सम्बन्धित पालिकाको खातामा पठाइने आचार्यले जानकारी दिए।
पूर्ण रूपमा संकटग्रस्त घोषणा गरिएका चार पालिकाले ४० लाख रुपैयाँका दरले रकम पाउने भएका छन्। आंशिक रूपमा घोषणा गरिएका निसीखोला र तमानखोला गाउँपालिकाले २० लाख रुपैयाँका दरले बजेट पाएका छन्। यसरी जम्मा दुई करोड रुपैयाँ वितरण हुन लागेको हो।
संकटग्रस्त क्षेत्रमा ताराखोला र बडिगाड गाउँपालिका तथा गलकोट र ढोरपाटन नगरपालिकाका सबै वडा पर्छन्। निसीखोलाका वडा नम्बर ४ र ६ तथा तमानखोलाका वडा नम्बर २ र ४ पनि सोही सूचीमा छन्।
असोज ११ गतेको विपद्मा बागलुङमा १३ जनाको मृत्यु भएको थियो। निसीखोला र तमानखोलामा पाँच-पाँच जना तथा ताराखोलामा तीन जनाले ज्यान गुमाएका थिए। बडिगाडमा हावाहुरीले सयौँ घरका छाना उडाएको थियो भने गलकोट र ढोरपाटनमा सडक, विद्यालय र निजी आवासमा क्षति पुगेको थियो।
प्राप्त रकम अवरुद्ध सडक खोल्न, खानेपानीका पाइप र विद्युत् सञ्चालनका लागि नहर मर्मत गर्न, विद्यालयमा पठनपाठनको वातावरण बनाउन र छाना उडाएका परिवारलाई तत्काल ओतको व्यवस्था गर्न खर्च गर्न सकिने छ। निजी आवास पुनर्निर्माण, विद्यालय भवन र सडक निर्माणका लागि आगामी दिनमा थप बजेट आउने प्रमुख जिल्ला अधिकारी आचार्यले बताए। उनले राहत वितरण र भौतिक संरचना पुनर्निर्माणले अब गति लिने विश्वास व्यक्त गरे।
