बोस्निया–हर्जगोभिनामा युरोपेली संघको शान्ति मिसनमा खटिएको हेलिकोप्टर दुर्घटनामा परेको छ। बिहीबार ब्रच्को क्षेत्रमा भइरहेको नियमित सैन्य अभ्यासका क्रममा इटालियन सेनाको सीएच–४७ चिनुक हेलिकोप्टर खसेको ईयूफोरले जानकारी दिएको छ। दुर्घटनामा चार जनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन्।
दुर्घटनास्थल राजधानी सारायेभोबाट करिब एक सय ८० किलोमिटर उत्तरमा पर्छ। इटालीको रक्षा मन्त्रालयका अनुसार ज्यान गुमाउनेमा दुई जना सैनिक र रेडक्रसका दुई जना स्वयंसेवक छन्। हेलिकोप्टरमा सवार सबै जना इटालियन नागरिक भएको इटाली सरकारले बताएको छ।
दुर्घटनापछि सुरुमा तीन जनाको मृत्यु भएको थियो। घाइते भएका १२ जनालाई अस्पताल पुर्याइएको थियो, तर उपचारका क्रममा थप एक जनाको पनि ज्यान गयो। ब्रच्को अस्पतालका प्रवक्ताले यो जानकारी दिएका हुन्। बाँकी ११ जना घाइतेको अवस्था स्थिर रहेको र उनीहरूको उपचार चलिरहेको ईयूफोरले जनाएको छ।
हेलिकोप्टर किन खस्यो भन्ने अझै खुल्न सकेको छैन। ईयूफोरले घटनाबारे विस्तृत छानबिन भइरहेको बताएको छ।
बोस्नियामा ईयूफोर सन् २००४ देखि तैनाथ छ। मिसनमा एक हजारदेखि १५ सयसम्म सुरक्षाकर्मी कार्यरत छन्। सन् १९९५ मा बोस्निया युद्ध अन्त्य गर्ने डेटन शान्ति सम्झौताको कार्यान्वयनमा निगरानी गर्नु यस मिसनको प्रमुख जिम्मेवारी हो।
