मकवानपुर — बंगालको खाडीमा बनेको अर्नब चक्रवातको असरले जिल्लामा झरी परिरहेपछि कान्ति लोकमार्गमा रातिको सवारी आवागमन रोकिएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले कात्तिक १३ र १४ गते दुई दिन बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म लोकमार्गमा गाडी चलाउन नपाइने निर्णय गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलले जारी गरेको सूचनामा जोखिमको समयमा यात्रा नगर्न र प्रशासनको निर्णयअनुसार मात्र सवारी सञ्चालन गर्न सबैलाई अनुरोध गरिएको छ। कात्तिक १२ गतेदेखि जिल्लामा लगातार वर्षा भइरहेको छ। प्रशासनका अनुसार वर्षाका कारण सडकमा बाढी र पहिरोको खतरा बढेको छ, त्यसैले दुर्घटना तथा सम्भावित मानवीय र भौतिक क्षति घटाउन राति सवारी बन्द गरिएको हो।
कान्ति लोकमार्ग काठमाडौं उपत्यकालाई मकवानपुर र हेटौंडासँग जोड्ने महत्त्वपूर्ण बाटो हो। प्रशासनले उक्त अवधिमा यो बाटो हुँदै यात्रा गर्ने यात्रु तथा सवारी सञ्चालकलाई सूचनाको पूर्ण पालना गर्न र सम्भव भएसम्म दिनको समयमा मात्र यात्रा गर्न आग्रह गरेको छ।
