अति कम विकसित मुलुकको सूचीबाट नेपाल बाहिरिने समयसीमा तीन वर्ष पछाडि सरेको छ। संयुक्त राष्ट्रसङ्घको महासभाले नेपालको स्तरोन्नतिको मिति सन् २०२६ को नोभेम्बरबाट सन् २०२९ को नोभेम्बरसम्म पुर्याउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।
शुक्रबार परराष्ट्र मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले यो जानकारी दिए। नेपालकै अनुरोधमा महासभाले समयसीमा थप गरेको उनले बताए। थपिएको तीन वर्षको तयारी अवधिले सूचीबाट बाहिरिने प्रक्रिया सहज र दिगो हुने विश्वास मन्त्रालयले लिएको छ।
प्रवक्ता पौडेलले आगामी ९ देखि २० नोभेम्बरसम्म टर्कीमा हुने विश्व जलवायु सम्मेलन (कोप३१) मा नेपाल उच्चस्तरीय सहभागिता जनाउने गरी तयारी अघि बढाइएको पनि बताए। सम्मेलनका क्रममा नेपाल र गणतन्त्र कोरियाबीच जलवायु परिवर्तनसम्बन्धी सहकार्यका लागि एउटा ढाँचा सम्झौतामा हस्ताक्षर हुने गरी गृहकार्य भइरहेको उनको भनाइ थियो।
सम्मेलनकै साइडलाइनमा नेपाल र अन्य पर्वतीय मुलुकहरूको सहकार्यमा जलवायु परिवर्तन र पर्वतीय विषयमा विशेष कार्यक्रम आयोजना गर्ने तयारी पनि भइरहेको प्रवक्ता पौडेलले जानकारी दिए।
प्रधानमन्त्रीको भारत भ्रमणबारे उनले दुवै पक्षलाई अनुकूल हुने समयमा भ्रमणको आवश्यक तयारी भइरहेको भए पनि मिति भने अझै तय नभएको उल्लेख गरे।
