रौतहटको गौरमा घरलाई नै गोदाम बनाएर भण्डारण गरिएका भन्सार छलीका सामान प्रहरीले बरामद गरेको छ। बिहीबार राति गरिएको छापामा १० लाख १२ हजार दुई सय रुपैयाँ बराबरका लत्ताकपडा र झाडुसहितका सामान फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार गौर नगरपालिका–१ स्थित मनोज साहको घरमा भन्सार छलीका सामान लुकाएर राखिएको विशेष सूचना प्राप्त भएको थियो। सोही सूचनाका आधारमा संयुक्त सुरक्षा टोलीले बिहीबार राति १ बजेर १० मिनेटमा साहको घरमा कानुनबमोजिम खानतलासी गरेको थियो।
छापामा खटिएको टोलीमा भन्सार सुरक्षा गार्ड गौरका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा गुल्म हेडक्वार्टर गौर र गौर भन्सार कार्यालय रौतहटका कर्मचारी सहभागी थिए। खानतलासीका क्रममा साडी, कुर्ती, तन्ना सेट र झुललगायतका लत्ताकपडा तथा खरेटो झाडु र फूल झाडु बरामद भएको प्रहरीले जनाएको छ।
बरामद गरिएका सबै सामान आवश्यक कानुनी कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको छ। घरभित्रै गोदाम बनाएर अवैध सामान भण्डारण गरिएको सूचनाका आधारमा भएको यो कारबाहीले सीमावर्ती क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रणमा सुरक्षा निकायको सक्रियता बढेको देखाएको छ।
