राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्ला दिनमा राज्यका तर्फबाट भएका गतिविधिले सत्ता कब्जाको सङ्केत देखाएको टिप्पणी गरेका छन्। शुक्रबार केही पत्रकार पक्राउ परेर रिहा भएलगत्तै उनले सामाजिक सञ्जालमा लेखेको भनाइले लोकतन्त्र, कानुनी शासन र नागरिक अधिकारमाथि गम्भीर प्रश्न उठेको उनको निष्कर्ष छ।
मिश्रले समाचार कक्षबाटै बिना पुर्जी पत्रकार पक्राउ परेको, मध्यरातमा बिना पुर्जी पूर्वप्रधानन्यायाधीश पक्राउ परेको र व्यापारीको घरमा खानतलासी भएको घटनालाई उदाहरणका रूपमा उल्लेख गरेका छन्। दिनदहाडै व्यापारीहरू पक्राउ पर्नु, मिडिया हाउस र राजनीतिक नेताहरूको घरअगाडि शंकास्पद रूपमा गाडी पार्क हुनु तथा अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमै तर्साइएको विषय पनि उनले उठाएका छन्।
उनका अनुसार आफ्ना मान्छेलाई जोगाउने र अरूलाई थर्काउने प्रवृत्ति बढेको छ। कतिपय सत्ताधारी नेताहरूले मिडियामा अहिले संसदको तल्लो सदनमात्र आफ्नो नियन्त्रणमा रहेको बताएको उनले सम्झाएका छन्। राष्ट्रिय सभा, स्थानीय तह, कर्मचारीतन्त्र, न्यायालय र प्रहरी पुरानै रहेको भन्नुको अप्रत्यक्ष अर्थ सत्ता अझै आफ्नो कब्जामा नरहेको भन्ने रहेको उनको बुझाइ छ।
मिश्रले लेखेका छन् — पछिल्ला समयमा भइरहेका कुरा सत्ता कब्जाका सङ्केत हुन्, र सत्ता कब्जा हुनु भनेको आज ताली पिट्नेहरू पनि रुने दिन आउनु हो। सबैलाई चेतना होस् भन्ने उनको आग्रह छ।
