रसुवा — भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीले क्षतिग्रस्त बनाएको स्याफ्रुबेँसी बजारमा पहिलोपटक एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ। गोसाईंकुण्ड गाउँपालिका, भिजिट डेभलपमेन्ट रिसर्च सेन्टर अमेरिका र नेपाल पर्वतारोहण सङ्घको संयुक्त आयोजनामा भएको शिविरबाट ३५० जनाभन्दा बढी नागरिकले सेवा लिएका छन्।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विमल घिमिरेका अनुसार बाढीपछि फैलिन सक्ने स्वास्थ्य जोखिम कम गर्न र प्रभावित नागरिकसम्म स्वास्थ्य सेवाको पहुँच पुर्याउन शिविर आयोजना गरिएको हो। बाढीले स्याफ्रुबेँसी बजार पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो।
शिविरमा ठूलोस्याफ्रु, स्याफ्रुबेँसी र भार्खुका बासिन्दाको स्वास्थ्य परीक्षण तथा परामर्श गरिएको छ। आवश्यक औषधि पनि निःशुल्क वितरण गरिएको प्रमुख घिमिरेले जानकारी दिए।
विपद्को कठिन समयमा घरदैलोमै पुगेर स्वास्थ्य सेवा दिएकोमा आयोजक संस्थाहरू, स्थानीय जनप्रतिनिधि, चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति स्थानीयवासीले आभार प्रकट गरेका छन्।
