पत्रकार पक्राउ र सञ्चारगृहभित्र प्रहरी प्रवेश गरेर गरिएको धरपकडको विरोधमा नेपाल पत्रकार महासंघका पूर्वपदाधिकारीहरूले शनिबार बिहान काठमाडौंको माइतीघर मण्डलामा मौन धर्ना दिने भएका छन्।
शुक्रबार जारी गरिएको विज्ञप्तिमा उनीहरूले शनिबार बिहान ८ बजेदेखि ९ बजेसम्म धर्ना आयोजना गरिने जनाएका छन्। समाचार कक्षभित्रै पसेर पत्रकारलाई पक्राउ गर्ने र सञ्चारमाध्यममा त्रास फैलाउने काम प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको सोझो हस्तक्षेप भएको उनीहरूको भनाइ छ।
विज्ञप्तिमा पक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न र सञ्चार जगतलाई आतंकित पार्ने गतिविधि बन्द गर्न माग गरिएको छ। साथै, पत्रकार, नागरिक समाज, मानवअधिकारकर्मी र प्रेस स्वतन्त्रताका पक्षधरलाई धर्नामा सहभागी हुन आह्वान गरिएको छ।
विज्ञप्तिमा महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्य, निवर्तमान वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, पूर्वउपाध्यक्ष खिलबहादुर भण्डारी, निवर्तमान उपाध्यक्ष उदय जिएम, निवर्तमान महासचिव रोसन पुरी, पूर्वमहासचिवहरू पोषण केसी र उजिर मगर, पूर्वसचिव ध्रुव लम्साल, निवर्तमान सचिवहरू पवन आचार्य र सिर्जना अर्याल, पूर्वकोषाध्यक्ष सूर्यमणि गौतम तथा निवर्तमान लेखा समिति संयोजक लेखनाथ न्यौपानेसहितका पूर्वपदाधिकारी र पूर्वकेन्द्रीय सदस्यहरूको नाम उल्लेख छ।
