२ कात्तिक, काठमाडौं । वैदिक सनातन धर्मको जगेर्ना र राष्ट्रिय एकताको सन्देश बोकेर यही कात्तिक ८ गतेदेखि मेची–महाकाली राष्ट्रव्यापी श्रीमुक्तिनाथ रथयात्रा २०८३ सञ्चालन हुने भएको छ । २३ दिन चल्ने यो रथयात्रा कात्तिक ३० गते नवलपरासीको त्रिवेणीधामस्थित श्रीगजेन्द्रमोक्ष दिव्यधाममा पुगेर समापन हुनेछ ।
मुक्तिनाथपीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (मुक्तिनाथ बाबा)को सत्सङ्कल्पअनुसार आयोजना हुँदै आएको रथयात्राले पूर्वदेखि पश्चिमसम्मका प्रमुख धार्मिकस्थल, मठमन्दिर र तीर्थधाम हुँदै आमनेपालीबीच राष्ट्रिय धार्मिक तथा सांस्कृतिक एकताको भावना फैलाउने लक्ष्य राखिएको छ ।
मुक्तिनाथ बाबाका उत्तराधिकारी स्वामी वासुदेव प्रपन्नाचार्यले यो यात्राले मुक्तिनाथ, पवित्र कालीगण्डकी र समग्र मुक्तिक्षेत्रको महिमालाई देशविदेशमा फैलाउँदै धार्मिक पर्यटन प्रवर्द्धनमा योगदान दिने बताए । विविधतायुक्त नेपाली समाजमा एकता र सहकार्य बलियो बनाउने अपेक्षा पनि गरिएको छ ।
सार्वजनिक कार्यतालिकाअनुसार रथयात्रा कात्तिक ८ गते मुक्तिनाथबाट सुरु भएर जोमसोम हुँदै बेनी पुगेर पहिलो दिन विश्राम गर्नेछ । त्यसपछि पोखरा, काठमाडौं, भक्तपुर, सिन्धुली, चतराधाम, धरान, झापा, विराटनगर, जनकपुरधाम, सिमरा, हेटौँडा, भरतपुर, नारायणगढ, बुटवल, नेपालगञ्ज, धनगढी, भैरहवा हुँदै कात्तिक ३० गते त्रिवेणीधाममा पुग्नेछ ।
त्रिवेणीधाममा मङ्सिर १ देखि २९ गतेसम्म श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ–२०८३ आयोजना हुने कार्यक्रम पनि तय गरिएको छ ।
