संसद्को पूर्वाधार विकास समितिले सूर्यविनायक–धुलिखेल सडकको निर्माण छिटो सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
सोमबार समितिका सभापति आशिष गजुरेलको अध्यक्षतामा बसेको बैठकमा आयोजनाका पदाधिकारीसँग छलफल भएको थियो। बैठकमा काभ्रे–२ का सांसद बदनकुमार भण्डारी, भक्तपुर–१ का सांसद रुकेस रञ्जित र आयोजनाका प्रमुख विजयकुमार महतो सहभागी थिए।
बैठकले भक्तपुर, सूर्यविनायक र बनेपा क्षेत्रमा सडक निर्माणमा देखिएका अवरोध तत्काल हटाउनुपर्ने निष्कर्ष निकालेको छ। विद्युत्का पोल सार्ने, सडकको सीमाभित्र पर्ने घर तथा संरचना हटाउने र अत्यधिक चोकको मागजस्ता समस्या पहिचान गरी निर्माण व्यवसायी, आयोजना कार्यालय र सरोकारवाला निकायबीच समन्वय गरेर छिटो समाधान गर्न निर्देशन दिइएको छ।
बनेपा बजार क्षेत्रका चोक तथा पुल निर्माणलाई उच्च प्राथमिकता दिएर काम अघि बढाउन र नियमित अनुगमनमार्फत तोकिएको समयभित्र गुणस्तरीय रूपमा आयोजना सम्पन्न गर्न पनि समितिले भनेको छ।
सम्झौताअनुसारको समयमा काम नसकिएर म्याद थपिँदा पनि जगती, महादेव खोला र पुण्यमाता पुलको भौतिक प्रगति १२ प्रतिशत मात्र पुगेको छ। सूर्यविनायक–साँगा खण्डको ५३ प्रतिशत र साँगा–धुलिखेल खण्डको ७४ प्रतिशत काम सम्पन्न भएको छ। बाँकी काम तोकिएको अवधिमै सक्न आयोजनाले प्रतिबद्धता जनाउनुपर्ने निर्देशन बैठकले दिएको छ।
