चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै २५औँ पटक सत्याग्रहमा बसेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बनेको छ। रगतमा चिनीको मात्रा खतरनाक रूपमा घटेपछि उनलाई शनिबार राति करिब ८ बजे इलाम अस्पतालमा भर्ना गरिएको थियो।
अस्पतालले आइतबार सार्वजनिक गरेको विवरणअनुसार टाइप–२ मधुमेहका बिरामी केसीको रगतमा ग्लुकोजको मात्रा क्रमशः ६७, ६७, ४७ र ३६ मिलिग्राम प्रतिडेसिलिटर देखिएको छ। पछिल्ला दुई नतिजा चिकित्सकीय दृष्टिले गम्भीर जोखिमको तहमा पर्ने अस्पतालले जनाएको छ। उनको पिसाबमा एसिटोनको मात्रा पनि बढेको पाइएको छ।
अस्पतालका अनुसार केसीको रक्तचाप १००/६० एमएमएचजी छ भने नाडीको गति प्रतिमिनेट ८० देखि १०८ सम्म र रगतमा अक्सिजनको मात्रा ९२ देखि ९६ प्रतिशत रहेको छ। मुटुको विद्युतीय गतिविधि जाँच्ने इसिजी परीक्षणमा कहिलेकाहीँ भेन्ट्रिकुलर प्रिम्याच्योर कम्प्लेक्ससमेत देखिएको छ।
स्वास्थ्य अवस्था थप बिग्रिएर जीवन नै जोखिममा पर्न सक्ने भन्दै इलाम अस्पतालले आवश्यक उपचार र थप व्यवस्थापनका लागि कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयसँग आग्रह गरेको छ। यसैबीच प्रदेशका स्वास्थ्य सचिव डा. कीर्तिपाल सुवेदी आइतबार इलाम अस्पताल पुगेर उपचारमा संलग्न चिकित्सक र अस्पताल प्रमुख डा. अमिताभ ठाकुरसँग भेट गरी अवस्थाबारे जानकारी लिएका छन्। सचिव सुवेदीले केसीले उठाएका मागमध्ये प्रदेश सरकारको अधिकार क्षेत्रभित्र रहेर सम्बोधन गर्न सकिने विषय नरहेको बताउँदै माग सम्बोधनका लागि आवश्यक पहलमा आफ्नो तर्फबाट सहयोग रहने बताएका छन्।
